बागमती किनारमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका अनधिकृत संरचना हटाउने क्रममा नगर प्रहरीमाथि साङ्घातिक आक्रमण गर्नेहरू विरुद्ध काठमाडौँ महानगरपालिकाले महानगरीय प्रहरी परिसर टेकुमा अपराध अनुसन्धानका लागि पत्र पठाएको छ ।
महानगर प्रहरी बलका प्रमुखसहित १८ जना नगर प्रहरीलाई आक्रमण गरी गम्भीर घाइते बनाइएको महानगरले जनाएको हो ।
नगर प्रहरी शर्मिला बोगटीलाई शरीर बन्धकमा लिई गम्भीर रूपमा घाइते बनाएको र उनीसहित तीन जना नगर प्रहरीको आइसियुमा उपचार भइरहेको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिएका छन् । अनधिकृत संरचना हटाउने कानुन बमोजिमको कार्यमा संलग्न नगर प्रहरीहरूलाई साङ्घातिक आक्रमण गर्ने व्यक्तिहरूलाई कानुन बमोजिम हदैसम्मको कारबाही गर्न सम्बद्ध निकाय तथा पदाधिकारीहरूलाई महानगरले अनुरोध गरेको छ ।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको अनुरोधमा सोमबार थापाथलीस्थित बागमती किनारमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका अनधिकृत संरचना हटाउन महानगर टोली खटिएको थियो । सो स्थानमा अनधिकृत संरचना निर्माण गर्ने व्यक्तिहरूले खुँडा जस्ता धारिलो हतियार, ढुङ्गा, मुढासहितका सामाग्री लिएर उपस्थित भई आपराधिक मनसायले एक्कासि आक्रमण गरेको महानगरको भनाई छ ।
बस्ती हटाउन आएको टोलीमाथि सुकुम्बासीहरु घरेलु हतियार खुकुरी र ढुंगामुढासहित उत्रिएका थिए।
उनीहरु हातमा खुकुरी बोकेर सडकमा निस्किँदै बस्ती हटाउन आए बाँकी नराख्ने चेतावनी दिइरहेका छन्।
बस्ती हटाउन आएपछि प्रतिकारमा उत्रिएकाहरुले घरेलु हतियार खुकुरी र ढुंगामुढासहित जाइ लागेका थिए।
आक्रमक बनेका सुकुम्बासीहरुले ढुंगा र इँटा हान्दा महानगरका एसपी राजु पाण्डेको टाउको फुटेको छ।
Discussion about this post