जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा उल्लेखनीय कुनै मौसमी प्रणाली छैन। यद्यपि देशभर चिसो बढिरहेको छ।
विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शुक्रबार) देशका पहाडी क्षेत्रमध्ये केही ठाउँमा आंशिक बदली रहनेछ। यस्तै, तराईका भू–भागमध्ये केही ठाउँमा हुस्सु कुहिरो लाग्ने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
शुक्रबार दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। महाशाखाका अनुसार प्रदेश १ का पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
शुक्रबार राति भने देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
तराईका केही भू-भागमा बिहानीपख हुस्सु कुहिरो लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।
Discussion about this post