Khabar Samachar

३० वर्षदेखि बन्द कृषि औजार कारखाना सञ्चालनको तयारीमा आविष्कार केन्द्र

202
VIEWS

कृषि औजार कारखाना पुनःं सञ्चालनमा आउने भएको छ । राष्ट्रिय आविष्कार केन्द्रको प्राविधिक टिमले कारखाना सञ्चालनको तयारी गरेको छ ।

आविष्कार केन्द्रको १६ जना प्राविधिक टिमले ४ दिनदेखि कारखानामा दैनिक १२ देखि १६ घन्टा खटेर पुराना मेसिन सरसफाइ गर्ने, चल्नसक्ने र फाल्नुपर्ने मेसिनहरु छुट्याउने, विद्युतीकरणको अवस्था र कारखाना सञ्चालनका लागि तत्काल लाग्ने लागतको विषयमा प्रारम्भिक अध्ययन सुरु गरेको छ । असोज ११ गते नेपाल सरकार र राष्ट्रिय आविष्कार केन्द्रबीच भएको सम्झौताका आधारमा कारखाना सञ्चालनको सम्पूर्ण जिम्मा सरकारले राष्ट्रिय आविष्कार केन्द्रलाई दिने निर्णय गरेको हो ।

सोही सम्झौता अनुसार आविष्कार केन्द्रले कारखानाको अवस्थाबारे २ साताभित्र सरकारलाई प्रतिवेदन बुझाउने र सोही आधारमा काम अगाडि बढाउने जनाएको छ । ‘अहिले हामी प्रारम्भिक काममा छौँ, अहिले कारखाना के कस्तो अवस्था छ ? मेसिन सञ्चालन गर्न मोटामोटी खर्च कति लाग्छ ? चल्ने खालका र फाल्नुपर्ने मेसिनहरु के के छन् ? त्यसको लगत निकालेर करिब २ हप्ताभित्र एउटा रिपोर्ट सरकारलाई बुझाउँछौँ र त्यो रिपोर्टको आधारमा केही दिन सरकारको निर्देशन कुर्छौं र निर्देशन आउन ढिलो भयो भने दोस्रो चरणमा ठुला मेसिनहरु पुरै खोलेर सरसफाइ गर्ने काम सुरु गर्छौँ’ आविष्कार केन्द्रका प्रमुख महावीर पुनले  भने ।

उनका अनुसार कारखाना सञ्चालनका लागि राख्नुपर्ने पुराना मेसिनहरु मर्मत सम्भार गर्न रातदिन खट्दा पनि ८/१० महिना लाग्छ । ‘हामी सकभर १ वर्ष नपुग्दै यहाँ भएका पुराना कृषि औजारमध्ये १०/१५ प्रकारका औजार पहिलो चरणमा उत्पादन गर्ने तयारीमा छौँ,’ उनले भने ।

पहिलो चरणमा ८ देखि १० महिनाभित्रका कुटो, कोदालो, कैची, बेल्चादेखि धान झार्ने मेसिन र अन्य हातले चल्ने साना मेसिनहरुको उत्पादनको काम सुरु गर्ने केन्द्रले जनाएको छ । दोस्रो वर्षदेखि भने सरकारको आर्थिक सहयोगमा कारखानामा आधुनिक टेक्नोलोजी भित्र्याउने र नाफामुलक ढंगबाट उत्पादन क्षमता बढाउने जनाइएको छ ।

 

नेपालको कृषि क्षेत्रलाई आवश्यक पर्ने सबै किसिमका उपकरण स्वदेशमै उत्पादन गर्ने उद्देश्यले तत्कालीन सोभियत संघ सरकारको सहयोगमा २०२४ सालमा वीरगञ्ज कृषि औजार कारखानाको स्थापना भएको थियो । १० बिगाहा क्षेत्रफलमा रहेको कारखानाले देशका विभिन्न स्थानमा बिक्री डिपो र डिलर राखेर कृषि औजार र यन्त्रहरु आपूर्ति  गर्दथ्यो । वायुसेवा निगम, नेपाल टेलिकम, विद्युत प्राधिकरण, दुग्ध विकास संस्थानको दूध बोक्ने टयाङ्की लगायतलाई पनि आवश्यक सामान यहीँ निर्माण हुन्थ्यो । तर ०४६ सालको राजनीतिक परिवर्तनसँगै कृषि औजार कारखाना धरासायी भयो । २०५९ सालदेखि कारखाना पूर्ण रुपमा बन्द भएको हो ।

उत्पादकत्व बढाउन एवं कारखानालाई नाफामा सञ्चालन गर्न सरकारी उद्योगलाई निजीकरण गर्ने योजना अनुरूप २०५४ सालमा कारखाना निजीकरणमा गयो । कारखानाको ६५ प्रतिशत शेयर बिक्री गरेर सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिइएको थियो तर त्यो पनि सफल हुन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित