Khabar Samachar

स्याङ्जामा सहकारीले उत्पादन गरेको छुर्पी अमेरिका निर्यात

202
VIEWS

 

स्याङ्जाको वालिङ नगरपालिका-८ जैसीपँधेरास्थित अकला नमूना साना किसान कृषि सहकारी संस्थाद्वारा उत्पादित छुर्पी अमेरिका निर्यात हुँदै आएको छ।

सहकारीका अध्यक्ष पुण्यप्रसाद अर्यालले सहकारीले कृषकबाट दूध संकलन गरेर विभिन्न प्रकारका परिकार उत्पादन गर्दै आएको जानकारी दिए।

‘हामीले यहाँ सङ्कलित दूधबाट छुर्पी, पनिर, दही, नौनीघ्यू, आइसक्रिमलगायतका वस्तु उत्पादन गर्दै आएका छौँ, छुर्पी अमेरिका निर्यात हुँदै आएको छ,’ उनले भने, ‘दूधबाट बनेका परिकार स्थानीय बजारमा बिक्री गरेर पनि काठमाडौँ निर्यात गर्ने गरेका छौँ।’

 

विशेष गरेर सहकारीले उत्पादन गरेको छुर्पीमात्र अमेरिका निर्यात हुने गरेको उनको भनाई छ। यहाँको दुग्ध सङ्कलन केन्द्रमा वालिङ नगरपालिकासहित दक्षिणी पर्वतबाट समेत कृषकले दूध जम्मा गर्ने गरेका छन्।

‘साना किसान कृषि सहकारीले सञ्चालन गरेको डेरीमा दैनिक आठ सयदेखि एक हजार एक सय लिटरसम्म दूध सङ्कलन हुन्छ’, उनले भने, ‘दैनिक २५ देखि ३० किलोसम्म छुर्पी उत्पादन हुँदै आएको छ। दूधको सिजनमा छुर्पीको उत्पादन धेरै नै हुन्छ।’

अध्यक्ष अर्यालले प्रतिकिलो छुर्पीलाई एक हजारदेखि एक हजार एक सयसम्म पर्ने जानकारी दिए। दूधबाट उत्पादित परिकारको बजारीकरणका लागि समस्या नरहेको उनको भनाई छ।

सहकारीका प्रबन्धक लक्ष्मी पोख्रेल रेग्मीले प्रतिलिटर दुई रुपैयाँ ५० पैसा दूधमा दिएको अनुदानले कृषक व्यावसायिक गाईभैँसीपालनमा आकर्षित हुँदै गएको बताए।

‘कृषकलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री, लहरेबालीका बीउबिजन, घाँसका बिरुवा वितरण गर्दै आएका छौँ’, उनले भने, ‘बाख्रापालक कृषकलाई बोयर बोका, एक सय ५० किलोदेखि माथि अदुवा लगाउने कृषकलाई किलोमा २५ रुपैयाँ अनुदान दिँदै आएका छौँ।’

प्रबन्धक रेग्मीका अनुसार प्रधानमन्त्री कृषि आनुनिकीकरण परियोजनासँगको सहकार्यमा गत आर्थिक वर्षमा १० जना कृषकलाई ‘भैँसी अनुदान कार्यक्रम’ अन्तर्गत ५० प्रतिशत अनुदान उपलब्ध गराइएको थियो। २८ जना कृषकलाई ‘भकारो सुधार कार्यक्रम’अन्तर्गत अनुदान वितरण गरिएको थियो।

विसं २०७५ मा स्थापन भएको सहकारीमा दुई हजार आठ सय ५० शेयर सदस्य रहेका छन्।

सहकारीले चालु आर्थिक वर्षमा पशुधन सुरक्षण कार्यक्रमअन्तर्गत निःशुल्क पशु बीमा कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत गरेको छ। कृषि पेसातर्फ किसानलाई आकर्षित गर्दै रोजगारीको सिर्जना गर्ने उद्देश्यले कृषकलाई अनुदान दिँदै आएको प्रबन्धक रेग्मीको भनाइ छ।

‘हिजोआज वित्तीय संस्थाहरूले ऋण लगानी गर्ने र ब्याजमार्फत मुनाफा आर्जन गर्ने परम्परा चलिरहेको छ’, उनले भने, ‘यो अवस्थामा परिवर्तन ल्याएर कृषकलाई आत्मनिर्भर र स्वरोजगार बनाउने योजनाअनुसार सहकारीले काम गरिरहेको छ।’

रेग्मीले सहकारीले कृषकमुखी कार्यक्रम सञ्चालन गर्दा वैदेशिक रोजगारमा जान ठिक्क परेकाहरू रोकिने गरेको बताए। उनले कृषकलाई अकला नमूना साना किसान कृषि सहकारीमा जोडिएर स्वरोजगार बन्न पनि आग्रह गरे। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित