Khabar Samachar

त्रिभुवन विमानस्थल भन्सारका १३७ जनाले मागे सरूवा

207
VIEWS

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका १ सय ३७ जना कर्मचारीले सामूहिक सरूवा मागेका छन्।

विभागका महानिर्देशकलाई सम्बोधन गर्दै लेखिएको पत्रमा हालै घटेको सुन काण्डको कारण आफूहरूलाई विभिन्न निकायबाट दुःख दिइएको भन्दै उनीहरूले सरूवा मागेका हुन्।

‘हामीलाई पनि यो जानकारी आइसकेको छ, अहिले विभागका महानिर्देशक मुलुक बाहिर हुनुभएकाले यसमा केही गर्न सकिने अवस्था छैन,’ भन्सार विभागका प्रवक्ता तथा निर्देशक पुण्यविक्रम खड्काले भने, ‘तर हामीले अहिले त्यहाँ भन्सार कार्यालय शून्य नहुने अवस्था कायम गरेका छौं।’

खड्काका अनुसार सरूवा मागेका कर्मचारीहरूले काम भने रोकेका छैनन्।

त्रिभुवन विमानस्थलका ३५ अधिकृतसहित १ सय ३७ कर्मचारीले एकैसाथ सरूवा मागेका हुन्।

राज्यबाट उपलब्ध स्रोत, साधनको अधिकतम उपयोग गरेर आफ्नो ज्ञान, सीप र क्षमताले भ्याएसम्म असल नियत र मनसायका साथ कार्यजिम्मेवारी पूरा गर्दै आएकोमा बिना कारण दुःख दिने र मानसिक रूपमा क्षतविक्षत बनाउने कार्यले कामकारबाही गर्न कठिन भएको कर्मचारीहरूले सार्वजनिक गरेका पत्रमा उल्लेख छ।

‘घटनामा दोषी जो कोहीलाई कानुनबमोजिम कारबाही गरियोस् भन्ने कुरामा हाम्रो कुनै दुई मत रहेन तर, कर्तव्य पालनाका सिलसिलामा खटिएका कर्मचारीहरूमाथि अनावश्यक धरपकड गर्ने, प्रमाणबिना थुनामा राख्ने, संलग्नता भएका यथेष्ट प्रमाण नहुँदा नहुँदै समेत पक्राउ गरी दुःख दिने नियत देखिएको हुँदा कार्यालयमा उपस्थित भई तोकिएको कार्य र जिम्मेवारी पूरा गर्न हामी कर्मचारीहरूमा व्यक्तिगत मनोवैज्ञानिक त्रास उत्पन्न भएको छ,’ निवेदनमा भनिएको छ।

कामकाज गर्ने मनोविज्ञान तथा वातावरण नरहेको भन्दै सो भन्सार कार्यालयबाट सामूहकि सरूवा गरिदिन उनीहरूले आग्रह गरेका हुन्।

कर्मचारीहरूले अर्थ मन्त्रालयका राजस्व सचिवलाई समेत बोधार्थसहित पत्राचार गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित