Khabar Samachar

कोरला नाकाको भव्य उद्घाटन, चीनले दियो उत्तरी मुस्ताङका नागरिकलाई नुन, तेल र कम्बल

202
VIEWS

नेपालको बिना तयारी र संरचना नै नबनेको स्थितिमा कोरला नाका सञ्चालनमा आएको छ ।

चीनतर्फ तिब्बतको लिजीमा बन्दरगाहसहित शहरै बने पनि कोरलानाकाको नेपालतर्फ कुनै संरचना छैनन् ।उत्तरी मुस्ताङका दुई पालिकालाई चीन छिर्ने सरकारी पास वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयले नै लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकाका करिब १ हजार नागरिकलाई चीन प्रवेश पास दिइसकेको छ । पास पाए पनि उनीहरू चीन छिर्न पाएका थिएनन् ।

गएको २०७६ चैतमा कोरोना सङ्क्रमणको कारण देखाएर नेपालका सबै उत्तरी नाका बन्द भएका थिए । त्यसयता अन्य नाकाहरू खुले पनि कोरला खुलेको थिएन । सोमबार विशेष कार्यक्रमका बिच चीनले निर्माण गरेका भौतिक संरचनाको उद्घाटनसहित नाका खुला भएको औपचारिक घोषणा गरिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणमा कोरला (नेचुङ—लिजी) नाका खोल्ने सहमतिअनुसार सोमबार एक समारोहबीच यो नाका सञ्चालनमा ल्याइएको हो ।

नाका खोल्ने भएपछि चीनतर्फबाट ठूला ठूला ट्रकमा नाकामा सामान ल्याइएको छ भने नेपालतर्फ सुनसान रहे पनि चीनतर्फ भव्य शहरै बनिसकेको छ ।

नेपालका तर्फबाट प्रतिनिधिसभा सदस्य योगेश गौचन थकाली र चीनका तर्फबाट सिगात्सेका मेयर तथा पार्टीका सहसचिव वाङफङ होङले संयुक्त रूपमा नाका सञ्चालनको घोषणा गरेका हुन् । नेपालबाट गण्डकीका पर्यटन मन्त्री दीपेन्द्रबहादुर थापा, प्रदेश सांसद नम्डु गुरुङ, पोखराका मेयर धनराज आचार्य लगायतको टोली सहभागी थियो ।

  सोही अवसरमा चीन सरकारले उत्तरी मुस्ताङका दुई पालिका र डोल्पाको एउटा पालिकालाई राहत सामग्री सहयोग हस्तान्तरण गरेको छ । लोमान्थाङ र लो घेकर तथा डोल्पाको शे फोक्सुन्डो गाउँपालिकालाई १/१ ट्याक्टर सामान सहयोग गरेको हो ।उत्तरी मुस्ताङका दुई पालिकाका लागि ३ हजार ५ सय प्याकेट चिया, २० किलोको ७ सय बोरा नुन, २ हजार ३ सय प्याकेट घ्यु, १ हजार ५ सय पिस कम्बल र १ हजार ६ सय पिस सिरक सहयोग गरेको लोमान्थाङका अध्यक्ष टसीन्हुर्वू गुरुङले जानकारी दिए ।

उनका अनुसार अब नाकालाई बाह्रै महिना सञ्चालन गर्ने गरी छलफल भएको छ । ‘दुई पालिकाका जनप्रतिनिधि र सिडिओको उपस्थितिमा चीनले बाह्रै महिना नाका खोल्ने कुरा गरेको छ,’ उनले भने, ‘प्राकृतिक प्रकोपबाहेक अन्य समयमा निर्वाध रूपमा खुला हुन्छ ।’ खासगरी हिउँ परेका बेला नाका बन्द हुने र अरु समयमा चल्ने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित