सहकारी ठगीका आरोपी जीबी राईविरुद्ध इन्टरपोलमा डिफ्यूजन नोटिस जारी भएको छ ।
सूर्यदर्शन सहकारीसँग जोडिएको ठगी सम्बन्धी मुद्दामा डिफ्यूजन नोटिस जारी गरिदिन भन्दै जिल्ला प्रहरी कार्यालय, कास्कीले केहीअघि प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको थियो । त्यसको आधारमा इन्टरपोलको नेश्नल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौंले डिफ्यूजन नोटिस जारी गर्न इन्टरपोलको महासचिवालायलाई अनुरोध गरेको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी भीमप्रसाद ढकालले बताए ।
‘दुई साताअघि नै डिफ्यूजन नोटिस जारी गर्ने विषय प्रक्रियामा गइसकेको थियो’, उनले अनलाइनखबरसँग भने । प्रहरीले सूर्यदर्शन सहकारीका वर्तमान अध्यक्ष थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भुपेन्द्र राईविरुद्ध पनि डिफ्यूजन नोटिस जारी गर्न सिफारिस गरेको छ । यद्यपि, इन्टरपोलमा नोटिस जारी भइसकेको छैन ।
यो नोटिस जारी भएपछि इन्टरपोलका सदस्य राष्ट्र मुलुकहरुमा चलाउने भएको वा नभएको लोकेट हुनेछ, त्यसपछि उनलाई डिपोर्ट गराएर नेपाल ल्याउने प्रक्रिया थालिने प्रहरीले जनाएको छ । राई मलेसियामा रहेको आशंका छ । उनी त्यहाँ आएको पुष्टि भए त्यसपछि डिपोर्ट गरेर ल्याउने प्रक्रिया अघि बढ्ने एक प्रहरी अधिकृतले बताए ।सहकारीका बचतकर्ताले जम्मा गरेको रकम हिनामिना गरेको आरोपमा कोषाध्यक्ष कुमार रम्तेललाई भने कास्की जिल्ला अदालतले गत असोज २१ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको थियो । यो मामलामा उपाध्यक्ष कैलाशकुमार दर्लामी, सदस्य शिवबहादुर गुरुङ र भगिश्वर अर्याल पनि पक्राउ परेर पुर्पक्षका लागि थुनामा रहेको कास्की प्रहरीले जनाएको छ ।
Discussion about this post