Khabar Samachar

Search
Close this search box.

९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया

221
VIEWS

चितवनमा क्यान्सर पहिचान भएकी ९७ वर्षीया वृद्धाको शल्यक्रिया सफल भएको छ। नारायणी सामुदायिक अस्पतालका चिकित्सकहरूले ९७ वर्षीया तमिसरा पुन मगरको स्तनको शल्यक्रिया गरेका हुन्।

केही दिनदेखि स्तन दुखेपछि अस्पताल आइपुगेकी वृद्धाको परीक्षण गर्दा देब्रे स्तनमा गिर्खा भेटिएको थियो। सिटी स्क्यान र एफएनएसी गर्दा २.५ सेन्टिमिटरको गिर्खामा दोस्रो स्टेजको क्यान्सर देखिएको थियो।

अस्पतालका चिकित्सक भक्तमान श्रेष्ठ नेतृत्वको समूहले शल्यक्रिया गरेर स्तन र आसपासमा रहेका गिर्खा निकालेको थियो।

‘उहाँको उमेर धेरै भइसकेको थियो। फोक्सो र मुटुमा समस्या थियो। रगत र प्लेटलेट्स पनि कम देखियो। सुरूमा त शल्यक्रिया गर्न समस्या हुन्छ कि भन्ने सोचेका थियौं,’ डा.श्रेष्ठले भने, ‘परिवारका सदस्यहरूले पनि शल्यक्रिया गर्न आँट दिनुभयो। एनेस्थेसियोलोजिस्ट डाक्टरहरूले पनि सकिन्छ भनेपछि शल्यक्रिया गरियो।’

मगरलाई डा. सुरेश गौतम र इन्द्रनारायण श्रेष्ठले एनेस्थेसिया (बेहोस बनाउने) दिएका थिए। सर्जनहरू डा.श्रेष्ठ, डा.रविन्द्र केसी, डा.सागर भुषाल, नर्सहरू निरु आलेमगर, मुना श्रेष्ठ, सिल्पा पोखरेल सहितको समूहले उनको शल्यक्रिया गरेको थियो। उनीहरूले शल्यक्रियाअघि मुटुरोग विशेषज्ञ डा.सुधिर रेग्मी र मणिप्रसाद गौतम, फिजिसियन डा.किशोर गौतमसँग परामर्श लिएका थिए।

एक घण्टा ५ मिनेटमा शल्यक्रिया सकेको र सकिएको करिब ५ मिनेटमा महिलाको होस आएको डा.श्रेष्ठले बताए।

‘शुक्रबार बिहान १० बजेतिर अपरेशन गरेका थियौं। साँझ साढे ५ बजेतिर चिया, सुप खानुभयो। अरू सबै कुरा ठीक छन्,’ श्रेष्ठले भने, ‘३–४ दिनमा त डिस्चार्ज नै हुनुहुन्छ होला।’ म्याग्दी घर भएकी मगरलाई पूर्वी चितवनको वीरेन्द्रनगर बस्ने छोरा सुरबहादुर पुन मगरले जेठ १ गते अस्पताल लगेका थिए। २ गते उनको रोग पहिचान भएको थियो।
शल्यक्रिया पछि शंकास्पद मासुको नमूनाको बायोस्पी गरिँदैछ। बायोस्पीपछि इम्युनो हिस्टो केमेष्ट्री (आइएचसी) परीक्षण गरिन्छ। त्यसको रिपोर्टले कस्तो क्यान्सर हो, कुन किमो, कति समयका लागि आवश्यक पर्ने भन्ने निधो गर्न सकिने डा.श्रेष्ठले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित