मर्दी हिमाल बेसक्याम्पमा मानव अवशेष (मानिसको हाड) फेला परेको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका-९ मर्दी हिमाल बेसक्याम्पको लामडाँडा भन्ने ठाउँमा मानिसको हाड, टाउजर र आइफोन फेला परेको हो ।
४ हजार ५ सय मिटर उचाइमा रहेको मर्दी बेस क्याम्पको लामडाँडा खोँचमा मान्छेको दुई वटा हड्डी, टाउजर र आइफोनसहितको मानव अवशेष फेला परेको वडाध्यक्ष क्षेत्रीले जानकारी दिए ।
‘मर्दी हिमालको बेस क्याम्पको मुख्य बाटोभन्दा करिब १२ सय मिटर पूर्वतिर मर्दी खोलाको उद्गम स्थलमाथि पर्ने लाम डाँडाको खोँचमा मानव लासको अवशेष भेटिएको हो,’ उनले भने ।
भेंडा र चौंरी चराउँदै गएका स्थानीय गोठाला तथा मालिकले शुक्रबार मानिसको २ वटा हाड फेला पारेपछि वडाध्यक्ष हरिबहादुर क्षेत्री (राजेन्द्र) लाई फोटो, भिडियोसहित शनिबार जानकारी गराएका थिए ।
बर्खा लागेपछि माछापुच्छ्रे गाउँपालिकाको हिमाली क्षेत्रका मानिसहरू भेंडाबाख्रा र चौंरी चलाउँदै लेकतिर जाने गर्छन् ।
क्षेत्रीले घटनाबारे जिल्ला प्रहरी कार्यालय कास्कीलाई जानकारी गराएका छन् । फेला परेको मानिसको हाड, टाउजर र आइफोन स्विडिस नागरिक मिचल लिउ ब्लोम्बर्गको हुन सक्ने अनुमान गरिएको छ ।
Discussion about this post