युएईमा रहेका नेपालीहरूले मादक पदार्थ सेवन गरी झैझगडा गर्न थालेको जानकारी आएको भन्दै दूतावासले त्यसो नगर्न सूचना जारी गरेको छ।
दू्तावासले साउन २२ गते सूचना जारी गरेर त्यहाँ रहेका नेपालीलाई आफू बसेको र काम गर्ने ठाउँमा सभ्य व्यवहार गर्न आग्रह गरेको छ । यूएईका ‘सम्बन्धित निकाय’ले नेपालीहरुले मादक पदार्थ सेवन गरेर होहल्ला गरेको सूचना दूतावासलाई दिएको जनाएको छ ।
‘नेपालीहरूले मादक पदार्थ सेवन गरी झैझगडा गर्ने प्रवृत्ति बढेको जानकारी यहाँको सम्बन्धित निकायबाट प्राप्त हुन आएको हुँदा यसतर्फ सचेत रहन सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ।
नेपाली राजदूतावास परिसर बाहिर पनि मापसे गरी वा नगरी हुलहुज्जत गर्ने, अराजक व्यवहार प्रदर्शन गर्ने, दूतावासको सुरक्षामा तैनाथ सुरक्षाकर्मीहरूलाई अपशब्द प्रयोग गरी गाली गर्ने गरेको पाइएको पनि सूचनामा उल्लेख छ।
यस्तो कार्य गर्नेलाई पनि युएई प्रहरीले कारबाही गर्ने चेतावनीसमेत दिइएको छ ।
Discussion about this post