नोबेल शान्ति विजेता तथा अर्थशास्त्री मोहम्मद युनुसले बंगलादेशको अन्तरिम सरकार प्रमुखका रूपमा शपथ लिएका छन्।
एक महिनाको विशाल जनप्रदर्शनपछि शेख हसिना प्रधानमन्त्रीबाट राजीनामा दिएर भारत निर्वासित भएको तेस्रो दिन बिहीबार युनुसले अन्तरिम सरकार प्रमुखको शपथ लिएका हुन्।
‘म पूर्ण निष्ठाका साथ संविधानको रक्षा गर्नेछु,’ ८४ वर्षीय युनुसले राष्ट्रपति मोहम्मद शहाबुद्दिनबाट शपथ लिँदै भने।
बंगलादेशी अखबार ‘द डेली स्टार’ का अनुसार युनुस नेतृत्वको १६ सदस्यीय अन्तरिम सरकारमा पछिल्लो आन्दोलन नेतृत्व गरेका विद्यार्थी नेताहरू नाहिद इस्लामी र असिम महमुद पनि सदस्य छन्। त्यसबाहेक नागरिक समाजका नेता, कूटनीतिज्ञ र पूर्वजनरललाई सरकारमा सामेल गरिएको छ।
कोटा प्रणालीविरूद्ध बंगलादेशमा एक महिनादेखि चलेको सरकारविरोधी प्रदर्शनलाई विद्यार्थी तथा युवा पुस्ताले चर्काएको आन्दोलन भनिन्छ। त्यही युवा पुस्ताबाट प्रधानमन्त्री हसिनालाई सत्ताच्यूत गराउनमा २६ वर्षीय नाहिद इस्लामीको नेतृत्वदायी भूमिका रह्यो।
आन्दोलन अवधिभर विद्यार्थी संगठित गर्नेदेखि नेतृत्व गर्नेमा उनको नाम सबभन्दा बढी चर्चामा थियो। उनले हसिना भारत निर्वासित भएपछि सैन्य नेतृत्वको सरकार नस्वीकार्ने चुनौती दिएका थिए। नोबेल विजेता युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गर्नुपर्ने सिफारिस उनैले गरेका थिए। युनुसकै नेतृत्वमा अन्तरिम सरकार गठन हुने सूचना सार्वजनिक गर्ने पनि नाहिद नै हुन्।
यी पछिल्ला घटनाक्रमले बंगलादेशको आन्दोलनमा नाहिद इस्लामीको भूमिका कति महत्त्वपूर्ण थियो भन्ने झल्काउँछ। उनलाई कतिपयले यो आन्दोलनका ‘नायक’ पनि भनेका छन्।
Discussion about this post