राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न ७ दिन म्याद थपिएपछि सो पार्टीका कार्यकर्ताहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सभापति पक्राउ परेको विरोधमा उत्रिएका रास्वपा कार्यकर्ताले ‘सहकारी पीडितलाई न्याय दे’ लेखिएको प्लेकार्डसमेत बोकेका छन् ।
जिल्ला अदालत कास्कीले बिहीबार प्रहरीले अनुसन्धानका लागि मागेको थप ७ दिनको म्याद दिएपछि पूर्वगृहमन्त्रीसमेत रहेका रविको हिरासत बसाइ लम्बिएको हो। हाल उनी कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन्।
त्यसो त रविका लागि प्रहरी हिरासत नौलो होइन। यसअघि उनी पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा २०७६ साउन अन्तिम साता चितवन प्रहरीको हिरासतमा पुगेका थिए। पुडासैनीले २०७६ असार २० गते चितवनको एक होटलमा आत्महत्या गर्नुअघि आफ्नै मोबाइलमा रेकर्ड गरेको भिडिओमा रविलाई दोष लगाएका थिए।
अदालतले लामिछानेमाथि अनुसन्धान गर्न पक्राउ परेको दिनदेखि नै लागू हुने गरी ६ दिनको म्याद थपेको थियो । तर बयान नसकिएपछि उनीमाथि अनुसन्धान गर्न प्रहरीले बिहीबार फेरी ७ दिनको म्याद थपेको छ ।
Discussion about this post