संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले कांग्रेसकै प्रतिनिधि सभा सांसद राजेन्द्र बजगाईविरूद्ध उजुरी दिएका छन्।
सांसद बजगाईँले पार्टी अनुशासन र हित विरुद्ध काम गरेको भन्दै अनुशासनको कारबाहीको माग गर्दै कांग्रेस अनुशासन समिति र संसदीय दलमा उजुरी दर्ता गराएको पाण्डेको सचिवालयले जानकारी दियो ।
‘उहाँ पार्टी हित र अनुशासन विरुद्ध जानुभयो । यतिसम्म कि मन्त्रीज्यूमाथि त प्रतिशोध नै साध्नुभयो‚’ ती सचिवालय सदस्यले भने ।
सांसद बजगाईंले रोयल टाइगर रिक्रियसनलाई क्यासिनो सञ्चालनको लाइसेन्स दिँदा सञ्चालकले मन्त्रीलाई करोडौँ रुपैयाँ घुस बुझाएको आरोप लगाउँदै सामाजिक सञ्जालमा लेखेका थिए । आरोपमा सांसद बजगाईँले उक्त पैसाबाट मन्त्रीले घर किनेको समेत दाबी गरेका थिए ।
‘डेरामा बस्ने मन्त्री बन्नासाथ घर किन्ने ?‚ ’सांसद बजगाईँले सामाजिक सञ्जालमा लेखेका थिए । जवाफमा बद्री पाण्डेले मतियार र बिचौलियासँग कहिल्यै पनि सम्झौता नगर्ने भन्दै इमानदार भएर काम गर्न खोजे पनि स्वार्थ समूहले घेराबन्दीमा पार्न खोजेको गुनासो गरेका थिए ।
उनले आफूले करोड त कौडी खाएको पुष्टि गरे पनि राजनीतिक जीवन परित्याग समाप्त गर्न तयार रहेको भन्दै सांसद बजगाईंलाई चुनौती दिएका थिए ।
Discussion about this post