Khabar Samachar

Search
Close this search box.

रवि लामिछानेले सहकारीलाई हस्ताक्षर सहितको ‘चेक’ काटेको भेटियो

206
VIEWS

सहकारीको रकम हिनामिनामा संलग्न भएको आरोपमा पक्राउ परेका रवि लामिछानेले बुटवलको सुप्रिम सहकारी संस्थालाई चेक काटेर दिएको भेटिएको छ।लामिछानेको हस्ताक्षरसहितको चेक बुटवलको सुप्रिम र पोखराको सूर्यदर्शन सहकारी संस्थालाई बुझाएको अनुसन्धानका क्रममा भेटिएको प्रहरी स्रोतले अनलाइनखबरसँग पुष्टि गरेको छ ।

गोर्खा मिडिया नेटवर्क प्रालिमा हुँदा लामिछानेले चेकमार्फत सहकारीलाई रकम फिर्ता गरेको अनुसन्धानका क्रममा भेटिएको हो।

गत कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ। सुप्रिम सहकारीको विषयमा बयानका लागि कात्तिक २७ गते उनलाई रूपन्देही ल्याइएको थियो।

जिल्ला सरकारी वकिलको कार्यालय रूपन्देहीमा लिइएको बयानका क्रममा लामिछानेलाई सुप्रिम सहकारीलाई काटेर दिएको चेकबारे सोधपुछ गरिएको थियो।प्रहरी स्रोतका अनुसार, रुपन्देहीको सुप्रिम सहकारीबाट पटकपटक रकम लिएको गोर्खा मिडिया प्रा.लि.ले त्यही सहकारीलाई ४० लाख ४२ हजार रुपैयाँ फिर्ता गरेको चेक गरेको छ, तिनमा लामिछानेको पनि हस्ताक्षर छ ।

‘बयानका क्रममा हामीले लामिछानेले हस्ताक्षर गरेर सुप्रिम सहकारीलाई भुक्तान गरेको चेक नै देखाएर सोधपुछ गरेका थियौं। आफ्नो हस्ताक्षर सहितको चेकको प्रतिलिपि देखेपछि उहाँ स्तब्ध हुनुभयो,’ ती अधिकृतले भने।

‘चेक देख्नासाथ उहाँ आश्चर्यचकित भएजस्तो गर्नुभयो र बयानका लागि समय चाहिन्छ भन्नुभयो’, अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘त्यतिबेला रविको बयानका लागि किन अस्वभाविक ढिलाइ गरेको भनेर सबैले प्रश्न उठाएका थिए । तर उहाँले कानुन व्यवसायीसँग सल्लाह गर्न बारम्बार समय मागेपछि ढिलाइ भएको थियो ।’

प्रहरी स्रोतका अनुसार लामिछानेले चाहिँ आफू गोर्खा मिडिया नेटवर्कमा प्रबन्ध निर्देशक हुँदा कतिपय अवस्थामा अत्यावश्यक कामका लागि रित्तो चेक काटेर घर्रामा छाड्ने गरेको जिकिर गरेका छन् । उनले भनेका छन्, ‘ड्रयरमा राखेका बेला अरु कसैले त्यो चेकमा नाम लेखेर पठाएको हुन सक्छ ।’

‘अझै पनि उहाँले सहकारीसँग ऋण लिएको र त्यसको कारोबारमा आफ्नो संलग्नता रहेको स्वीकार्नुभएको छैन, तर हामीले उहाँ संलग्न रहेको पुष्टि हुने धेरै आधार भेटिसकेका छौं,’ प्रहरी स्रोतले भन्यो, ‘आफ्नै हातले हस्ताक्षर गरेको चेकबाट भएको भुक्तानीमा समेत उहाँले अरुले छलछाम गरेको र झुक्यानमा पारेको हुनसक्ने भनेर बयान दिनुभएको छ ।’

चेकको प्रसंग आएपछि लामिछानेले बयानका लागि समय मागेका थिए। त्यसपछि दोस्रो दिन, कात्तिक २८ गते रातिसम्म बयान लम्बिएको पनि ती अधिकृतले बताए।

सुप्रिम सहकारीबाट लामिछानेसहित गोर्खा मिडिया नेटवर्क प्रालिका अध्यक्ष गितेन्द्र बाबु (जिबी) राई, उपाध्यक्ष एवं नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल बन्जाडे जोशी लगायतको नामबाट झन्डै साढे १६ करोड रूपैयाँ गोर्खा मिडियामा लगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ।

त्यसमध्ये लामिछानेको नाममा दुई करोड र जोशीका नाममा साढे दुई करोड रूपैयाँ गएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।

लामिछानेले सहकारीको रकम आफ्नो खातामा कसरी गयो आफूलाई थाहा नभएको र गोर्खा मिडियामा सहकारीको रकम लगिएकोबारे समेत आफूलाई जानकारी नभएको दाबी गरिरहेका छन्।

बुटवलको राजमार्ग चौराहमा मुख्य कार्यालय रहेको सुप्रिम सहकारीका १ हजार ८३१ बचतकर्ताले सहकारीका संस्थापक अध्यक्ष जिबी राई, वर्तमान अध्यक्ष ओमप्रकाश गुरूङ सहितका पदाधिकारी, सञ्चालक तथा कर्मचारीहरूले एक अर्ब रूपैयाँभन्दा बढी रकम अपचलन गरेको भन्दै इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित