प्रोफेसनल गल्फर शुक्रबहादुर राई सूर्य नेपाल गल्फ टूर २०२१–२२ च्याम्पियन भएका छन । राई ३ अन्डर ६९ को स्कोरसहित समग्रमा १९ अन्डर २६९ को सानदार नतिजामा सूर्य नेपाल गल्फ टूर २०२१–२२ अन्तर्गत सिजनको अन्तिम प्रतियोगितमा च्याम्पियन बन्न सफल भएका हुन्। धरानका शुक्रले धरानकै निरज तामाङलाई ६ स्ट्रोकले हराउँदै करियरको सातौं उपाधि हात पारे। उपाधिसँगै जितेको नगद दुई लाख पचास हजारले शुक्र पहिलो पटक नेपाल नम्बर एक गल्फर बनेका छन्। उनले यो सिजनको कुल आठमध्ये पाँच प्रतियोगिता मात्र खेलेपनि सर्वाधिक ६ लाख ६३ हजार ५०० नगद पुरस्कार सहित नम्बर एक बनेका हुन्।
२ ओभर ७४ सहित समग्रमा १३ अन्डर २७५ सहित निरज दोस्रो भए। समग्रमा १२ अन्डर २७६ सहित तेस्रो भएका भुवनले नम्बर एक गल्फरको स्थान गुमाए। उनले अन्तिम दिन २ अन्डर ७० स्कोर जोडे। यो सिजन कुल ५ लाख ८० हजार ५ सय नगद पुरस्कारसहित दोस्रो स्थानमा तल झरे। एमेच्योर वाङ्गचेन ढोन्डुपले १ ओभर ७३ सहित समग्रमा ११ अन्डर २ सय ७७ सहित एमेच्योरतर्फ उपाधि जिते। समग्रमा भने उनी चौथो भए।
साथै सूर्य नेपाल टूरमा लामो समय सहयोग गर्ने रामजी राजबाहक तथा रमेश नगरकोटी र समिर तामाङलाई कदरपत्रसहित सम्मान गरियो। चार दिने प्रतियोगितामा ४३ प्रोफेसनल र ११ एमेच्योरसहित ५४ खेलाडीको सहभागिता रहेको थियो। सूर्य नेपाल प्रालिको प्रायोजनमा नेपाल प्रोफेसनल गल्फर्स संघद्वारा आयोजित प्रतियोगिताको कुल पुरस्कार राशी १४ लाख ६१ हजार रहेको छ।
विजेताले दुई लाख ५० हजार, दोस्रो र तेस्रो हुनेले क्रमश १ लाख ५५ हजार र १ लाख दश हजार प्राप्त गरे। विजयी खेलाडीहरुलाई सूर्य नेपाल प्रालिका मार्केटिङ उपाध्यक्ष दीपरा लहेरी, नेपाल प्रोफेसनल गल्फर्स संघका अध्यक्ष रवीन्द्रमान श्रेष्ठ र नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले पुरस्कार वितरण गरे।
Discussion about this post