Khabar Samachar

स्कटल्यान्डविरुद्ध नेपाल ५ विकेटले विजयी

215
VIEWS

काठमाडौं। विश्वकप लिग-२ क्रिकेटअन्तर्गत स्कटल्यान्डमा जारी त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टोलीलाई‍ ५ विकेटले हराएको छ। शानदार बलिङ प्रदर्शन गर्दै नेपालले जितको आधार बलियो बनाएको थियो। एक सय ४५ रनको लक्ष्य नेपालले २५ ओभर १ बलमा ५ विकेट गुमाएर पुरा गर्‍यो।

नेपालको जितमा ओपनिङ ब्याट्सम्यान आसिफ शेखले अर्धशतक प्रहार गरे। उनले ७१ रन जोड्ने क्रममा ६१ बलमा १० चौका र १ छक्का हिर्काए।

त्यसअघि ओपनर कुशल भुर्तेल २८ बलमा २७ रन जोडेर आउट भएका थिए। यस्तै देव खनाल ४ रन जोडेर आउट भएका थिए। फेरि पनि ब्याटिङमा चुकेका दीपेन्द्रसिंह ऐरीले ३ रन मात्र जोड्न सके। आरिफ शेख पनि १ रनमै आउट भए।

उपकप्तान रोहितकुमार पौडेलले नटआउट ३४ रन जोडे। उनले ३१ बलमा ५ चौका हिर्काए।

बलिङमा स्कटल्यान्डका गाबिन मेनले ३ विकेट लिन सफल भए।

ग्लास्गोमा टस जितेको नेपालले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको घरेलु टिम स्कटल्यान्ड ४२.५ ओभरमा १४४ रनमा अलआउट भयो।

स्कटल्यान्डका लागि गाबिन मेनले अर्धशतक प्रहार गरे। टिमका लागि सबैभन्दा बढी रन जोडेका उनले नटआउट ६४ रन जोडे।

मेन र हम्जा ताहिरले अन्तिम विकेटका लागि १३.५ ओभरमा ४९ रनको साझेदारी गरेका थिए।

मार्क वाटले १७ रन, सफयन शरिफ १६ रन र म्याकलियोर्डले १३ रन जोडे। अरू ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए।

ओपनर केल कोइट्जर ६ रनमा सोमपाल कामीको बलमा र  म्याथ्यु क्रस २ रनमा करण केसीको बलमा क्याच भएका थिए।

नेपालले दोस्रो ओभरदेखि नै विकेट लिन सुरू गरेको थियो। करण केसी र सोमपाल कामीको जोडीले सुरुवाती ओभरमा लगातार दबाब बनाएका थिए।

स्लिपमा तीन फिल्डर राखेको नेपालले सुरूवातदेखि नै विकेट पछाडि सफतला हात पर्न सुरु गरेको थियो।

नेपालले १३ ओभरमा स्कटल्यान्डको पाँच विकेट लिएको थियो। त्यतिबेला स्कटल्यान्डले ४० रन जोडेको थियो।

बलिङमा नेपालका लागि सोमपाल कामी र आदिल अन्सारीले ३-३ विकेट लिए। सोमपालले १० ओभरमा ४० रन खर्चिए भने अन्सारीले १० ओभरमा १ मेडन राख्दा ३१ रन दिए।

कप्तान सन्दीप लामिछानेले २ विकेट लिए। उनले १० ओभरमा १ मेडन राख्दै ३५ रन खर्चिए।  करण केसी र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट लिए।

खेलमा कुशल भुर्तेलले चार क्याच लिँदा विकेटकिपर आसिफ शेखले तीन क्याच लिएका थिए।जितसँगै नेपाल १८ खेलबाट १७ अंक जोडेर तालिकाको पाचौँ स्थानमा उक्लिएको छ। स्कटल्यान्ड २२ खेलबाट ३० अंक जोडेर दोस्रोमा छ। नेपालले पहिलो खेलमा नामिबियासँग ४० रनको हार ब्यहोरेको थियो भने स्कटल्यान्डले पहिलो खेलमा नामिबियालाई ७७ रनले हराएको थियो। सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा स्कटल्यान्डलाई पहिलोपटक हराएको हो। नेपालले अब तेस्रो खेलमा शनिबार नामिबियासँग खेल्ने छ। शृंखलाको अन्तिम खेल नेपालले स्कटल्यान्डसँग आइतबार प्रतिस्पर्धा गर्ने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित