नेपालले साफ यू–२० च्याम्पिनयसिपमा लगातार दोस्रो जित दर्ता गरेको छ।
भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा बुधबार भएको खेलमा नेपालले श्रीलंकालाई ३–० गोल अन्तरले पराजित गर्यो।
च्याम्पियनसिपमा श्रीलंका भने लगातार दोस्रो खेलमा पराजित भएको हो। पहिलो हाफ गोलरहित बराबरी खेलेको नेपालले सबै गोल दोस्रो हाफमा गरेको हो।
खेलको ५८ औँ मिनेटमा कप्तान कप्तान आयुष घलानले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए।
सिनियर टोलीको समेत अनुभव बटुलिसकेका आयुषले अविशेक वाइवाको क्रसलाई गोलरक्षकले पन्च गर्दै बचाएपनि रिबाउण्डमा आएको बललाई पोष्टको दिशा दिएका थिए। मिडफिल्डर कृतिश रत्न छुन्जुले गोल गर्दै नेपालको अग्रता दोब्बर पारे।
कृतिशले आयुष घलानको पासमा गोल गर्न सफल भएका थिए। खेलको ८४ औँ मिनेटमा वैकल्पिक खेलाडीका रुपमा मैदान गएका मनग्य नकर्मीले सुगम सुवादको पासमा गोल गर्दै नेपालको अग्रता फराकिलो पारे।
नकर्मी दोस्रो हाफमा सन्दीप कार्कीको स्थानमा मैदान छिरेका थिए। मनग्यले पहिलो खेलमा पनि वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गर्दै गोल गरेका थिए। त्यसअघि पहिलो हाफमा आक्रमक खेल प्रस्तुत गरेपनि नेपालले पाएको केही अवसरलाई सदुपयोग गर्न सकेन।खेलको २९ औँ मिनेटमा गोल गरेपनि रेफ्रिले त्यसलाई मान्यता दिएनन्। नेपालले आफ्नो पहिलो खेलमा मालदिभ्सलाई ४–० को फराकिलो गोल अन्तरले पाखा लगाएको थियो।
Discussion about this post