Khabar Samachar

सन्दीप लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी भइसकेको छैन: काठमाडौं प्रहरी

210
VIEWS

नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरूद्ध हालसम्म पक्राउ पुर्जी जारी भएको छैन।

काठमाडौं जिल्ला अदालतले उनीविरूद्ध पक्राउ पुर्जी जारी गरिनसकेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरत बोहराले स्पष्ट पारे। उनले बिहिबार अपरान्ह पौने ४ बजे सम्ममा पुर्जी जारी नभएको सेतोपाटीलाई जानकारी दिए।

‘प्रारम्भीक अनुसन्धानको प्रक्रियामा छौं। अहिले पौने ४ बजेसम्म पुर्जी जारी भइसकेको छैन,’ उनले भने।

काठमाडौं जिल्ला अदालतले पनि अहिलेसम्म अनुमति दिइनसकेको सूचना अधिकारी दीपक दाहालले बताए।

‘अनुमति लिन आएको देखिएको छैन। अदालतबाट पनि अनुमति दिएको अहिलेसम्म देखिन्न,’ उनले सेतोपाटीसँग भने।

भदौ ५ गते मध्यराति काठमाडौंको एक होटलमा पुर्‍याएर १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको भन्दै प्रहरी वृत्त गौशालामा मंगलबार जाहेरी परेको थियो।

जाहेरी परेसँगै प्रहरीले यस घटनाको अनुसन्धान अघि बढाएको हो।

प्रहरीले उनीहरू बसेको भनिएको होटलको सिसिटिभी फुटेज पनि प्रमाणको रूपमा संकलन गरिसकेको छ। त्यस होटलमा लामिछानेले आफूमाथि पटकपटक बलात्कार गरेको प्रहरीसमक्ष पीडितले बयान दिएकी छन्।

यस्तै उक्त होटल जानुअघि उनीहरू भक्तपुरको नगरकोट गएका थिए। त्यहाँबाट पनि सिसिटिभी फुटेज ल्याएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

आफूमाथि बलात्कारको आरोप लागेपछि क्यारेबियन मुलुक सेन्ट लुसियामा रहेका सन्दिप लामिछानेले क्रिकेट एसोसिएशन अफ नेपाल (क्यान) सँग सम्पर्क गरेका छन्। लामिछानेले क्यानसँग सम्पर्क गरेर कानुनी सहयोगको अपेक्षा राखेका हुन्।

क्यारेबियान प्रिमियर लिग (सिपिएल) खेल्न गएका उनी कहिले नेपाल फर्किन्छन् टुंगो छैन।

सिपिएल आगामी अक्टोबर १ सम्म चल्नेछ। सन्दीप आबद्ध जमैकाको अन्तिम लिग खेल सेप्टेम्बर २५ मा छ। उनी नेपाल कहिले फर्किन्छन् भन्ने टुंगो लागेको छैन।

१८ वर्षमुनीका नाबालिगमाथि सहमतिमै गरेको करणीलाई कानुनले बलात्कार मानेको छ।

मुलुकी अपराध संहिता, २०७४ को  परिच्छेद-१८ करणी सम्बन्धी कसूरको दफा २१९ को उपदफा २ मा भनिएको छ, ‘कसैले कुनै महिलालाई मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा उनले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिनेछ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित