Khabar Samachar

मुलुक इतिहासकै डरलाग्दो आर्थिक संकटमा पुगेको छ- पूर्वअर्थमन्त्री विष्णु पौडेल

202
VIEWS

पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकारको असफलताका कारण मुलुक डरलाग्दो आर्थिक संकटमा पुगेको दाबी गरेका छन् । उनले नाकाबन्दी, भूकम्प र कोरोना महामारीको अवस्थामा समेत नदेखिएको आर्थिक संकट अहिले देखिएको भन्दै चिन्ता व्यक्त गरे ।

प्रतिनिधिसभा सदस्यका लागि रूपन्देही क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार समेत रहेका पौडेलले वर्तमान सरकारको असफलताका कारण मुलुकमा अहिलेको अवस्था आएको बताए।

मुलुकको आर्थिक अवस्था गम्भीर अवस्थामा पुगेको बेला सरकारले निजी क्षेत्रको घाँटी निमोठ्ने काम गरेको उनले टिप्पणी गरे।

नेपाल उद्योग तथा व्यवसायी महासंघले शनिबार बुटवलमा आयोजना गरेको उद्योगी तथा व्यवसायी भेलामा बोल्दै पौडेलले सरकारको गलत आर्थिक नीतिका कारण निजी क्षेत्र पलायन हुने अवस्थामा पुगेको बताए।

उद्योग व्यवसायमा देखिएको आर्थिक संकटको प्रभाव श्रमिक वर्गमा परेको भन्दै उनले मजदुरको घरमा आगो नबल्ने अवस्था आइपुगे पनि सरकार सत्ता टिकाउने खेलमा रमाईरहेको आरोप लगाए।

आफू अर्थमन्त्री हुँदा ४ दशमलव २ प्रतिशतमा रहेको मूल्यवृद्धि दर अहिले ८ दशमलव १ प्रतिशतमा पुगेर दोब्बर भएको उल्लेख गर्दै पौडेलले अस्वभाविक रुपमा करको दर हेरफेर, बैंक ऋणको ब्याजदरमा उच्च वृद्धि लगायत कारणले निजी क्षेत्रलाई सरकारबाटै आतंकित बनाउने काम भएको बताए।

मुलुकमा अस्थिर राजनीतिको सुरूआत गर्नुनै आर्थिक संकटको पहिलो कारण भएको दाबी गर्दै पौडेलले गठबन्धनको नाममा सत्ता स्वार्थ र केही निहित व्यक्तिको स्वार्थ पूर्तिका लागि अपनाइएको आर्थिक नीतिले मुलुकको उद्योग व्यवसाय ध्वस्त हुने अवस्थामा पुगेको बताए।

पौडेलले सरकारले बैंकको ब्याजदरमा उच्च वृद्धि गरेपछि आन्दोलनरत उद्योगी व्यवसायीको मागप्रति ऐक्यवद्धता जनाउँदै उनीहरुको माग पूरा गराउन आफ्नो साथ रहेको बताए।

कोरोना महामारीले धरासायी भएका निजी क्षेत्र तथा उद्योगी-व्यवसायीलाई सरकारबाटै ढाडमा हान्ने काम भएको भन्दै पौडेलले मूल्यवृद्धि नियन्त्रण गर्न नसक्नु तथा ब्याजदर वृद्धिको कडा आलोचना गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित