नेपालगन्ज म्याराथनले विश्व म्याराथनको सर्वोच्च निकाय एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)को सदस्यता प्राप्त गरेको छ।
विश्वका आधिकारिक म्याराथन आयोजकको साझा संस्था एम्समा नेपालबाट सदस्यता लिने नेपालगन्ज म्याराथन पहिलो रहेको नेपालन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले जानकारी दिए।
एम्सले गत महिना नेपालगन्ज म्याराथनको रुट प्रमाणीकरण गरेको थियो। नेपालगन्ज म्याराथनअन्तर्गत ४२.१९५ किमी, २१.०९७५ किमी, १० किमी र ५ किमी गरी चार वटा दूरीको अलगअलग प्रमाणपत्र छ।
वर्ल्ड एथ्लेटिक्स अन्तर्गत म्याराथनको नियमनकारी निकाय एम्समा एक सय १५ देशका ४५३ रेश आयोजक सदस्य छन्। नेपालगन्ज म्याराथन आयोजना एवं स्तरीयता सम्बन्धी आवश्यक कागजातसहित सम्पूर्ण प्रक्रिया पूरा गरेपछि एम्सले सदस्यता दिने निर्णय गरेको हो।
अन्तर्रािष्ट्रय मञ्चमा नेपालगन्ज म्याराथनले सदस्यता प्राप्त गर्न सफल भएकोमा नेपालगन्ज म्याराथन आयोजकलाई एम्सका प्रेसिडेन्ट पाका बोराओले स्वागत गरेका छन्।
नेपालगन्ज म्याराथन आगामी दिनमा नेपाल घुम्न आउने विदेशी पर्यटक तथा अन्तर्राष्ट्रिय म्याराथनमा भाग लिन जाने नेपाली धावकका लागि प्रवेशद्वार बन्न सक्ने अध्यक्ष ठकुरीले बताए।
नेपाल सरकार र विद्रोही पक्षबीच बृहत शान्ति सम्झौता भएको दिन मंसिर ५ गतेको दिनलाई सम्झदै मंसिरको पहिलो शानिबार हुँदै आएको धारा नेपालगन्ज म्याराथन यो वर्ष मंसिर २४ गते शनिबार हुँदै छ।
क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको म्याराथनका लागि २०७९ असार १५ गते देखि खेलाडी दर्ता खुला गरिएको छ।
पुरुष म्याराथन (४२.१९५किमी), महिला हाफ म्याराथन (२१किमी), १० किमी पुरुष खुल्ला, ५ किमी महिला खुल्ला, ५ किमी स्कुलस्तरीय छात्र, ३ किमी स्कुल स्तरीय छात्रा, किड्स रन (८देखि १२ वर्ष उमेर समूह), २ किमी कर्पोरेट रन, एक किमी ट्राइसाइकल र वाकाथन समावेश गरिएको छ।
Discussion about this post