Khabar Samachar

स्कटल्यान्डले नेपाललाई दियो २७५ रनको लक्ष्य

200
VIEWS

आइसिसी विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्डले नेपाललाई २७५ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा शुक्रबार टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ५० ओभरमा २७४ रन जोड्यो।

स्कटल्यान्डका लागि मिकेल लेस्कले शतक प्रहार गरे। पहिलो एकदिवसीय शतक प्रहार गरेका उनले ८५ बलमा नटआउट १०७ रन जोडे।

स्कटल्यान्डका ओपनरद्वय क्रिस्टोफर म्याकब्राइडले २२ रन र रिची बेरिङटनले १९ रन जोडे। दुवैलाई कुशल मल्लले क्याच आउट गरेका थिए।

टोमस म्याकिङटोस १९ रन, म्याथ्यु क्रस २ रन र ब्रेन्डन म्याकुलम २२ रनमा आउट भए। तीनै जनालाई सन्दीप लामिछानेले आउट गरे।

क्रिस ग्रेभ्सलाई १६ रन बनाएर खेलिरहदा कुशल भुर्तेलले विकेटकिपर आसिफबाट क्याच गराए। यस्तै ज्याक जर्भिसलाई दीपेन्द्रसिंह ऐरीले २६ रनमा बोल्ड गरे।  मार्क वाट २० रनमा रनआउट भए।

बलिङमा नेपालका सन्दीप लामिछानले तीन विकेट लिए। उनले १० ओभरमा २७ रन दिए। कुशल मल्लले दुई विकेट लिए भने सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले एक एक विकेट हात पारे।

सिरिजमा यसअघि दुवै टिमले पहिलो खेलमा जित हात पारेका थिए। दुवैले नामिबियालाई पराजित गरेका थिए।

सिरिजमा नेपालले भोलि आफ्नो तेस्रो खेलमा नामिबिया र मंगलबार अन्तिम खेलमा स्कटल्यान्डसँग भिड्नेछ।

लिग-२ मा स्कटल्यान्ड च्याम्पियन भइसकेको छ। लिग-२ को शीर्ष टिम स्कटल्यान्डले ३३ खेलबाट ४८ अंक जोडेको छ। दोस्रो स्थानको ओमानले आफ्ना सबै ३६ खेल खेल्दा ४४ अंक जोडेको छ। तेस्रो स्थानको नामिबियाले अन्तिम चार खेल बाँकी छदा ३७ अंक जोडेको छ। चौथो स्थानको अमेरिकाले सबै ३६ खेलबाट ३५ अंक जोडेको छ। यो अवस्थामा अब स्कटल्यान्डले बाँकी सबै खेल हारे पनि शीर्ष स्थान गुमाउने छैन।

लिग-२ मा नेपाल छैटौं स्थानमा छ। नेपालले आफ्नो ११  खेल खेल्न बाँकी छदा २० अंक जोडेको छ। नेपालभन्दा माथि रहेको पाँचौ स्थानको युएईको २६ खेलबाट २७ अंक छ। पुछारको पिएनजीको २८ खेलबाट ५ अंक मात्र छ।

लिग-२ का शीर्ष तीन टिम विश्वकप छनोटमा पुग्नेछन्। बाँकी चार टिमले क्वालिफायर प्लेअफ खेल्नु पर्नेछ।

लिग-२ बाट स्कटल्यान्ड र ओमान विश्वकप छनोटमा पुगिसकेका छन्। अब बाँकी एक स्थानका लागि नामिबिया, नेपाल र युएईबीच प्रतिस्पर्धा छ। जसमा नामिबिया बलियो स्थानमा रहदा नेपाललाई शीर्ष तीनमा पर्न कठिन छ।

आइसिसीले क्रिकेट विश्वकप २०२३ को छनोटका लागि तीन वटा लिग गरिरहेको छ। जसमा टेस्ट मान्यता प्राप्त १२ टिम र नेदरल्यान्ड्स गरी १३ टिमबीच सुपर लिग, नेपालसहित सात एकदिवसीय मान्यता प्राप्त टिमबीच लिग-२ र एसोसिएट टिमबीच प्रतिस्पर्धा भएको च्यालेन्ज लिग रहेका छन्।

सुपर लिगबाट ७ टिम र आयोजक भारत गरी आठ टिम विश्वकप २०२३ मा पुग्नेछन्। अब दुई स्थानका लागि सुपर लिगका पाँच टिम, लिग-२ का तीन टिम र क्वालिफायर प्लेअफका दुई टिम गरी १० टिमबीच छनोट प्रतियोगिता हुँदैछ। क्वालिफायर प्लेअफमा लिग-२ का चार टिम र च्यालेन्ज लिगका दुई टिम गरी छ टिमबीच प्रतिस्पर्धा हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित