नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले लगातार दोस्रो जित निकालेको छ। पहिलो खेलमा काठमाडौं गुर्खाजलाई ५ विकेटले पराजित गरेको चितवनले मंगलबार पोखरा एभेन्जर्सलाई ८७ रनले रनले पराजित गर्यो।
पोखराको ब्याटिङ कोल्याप्स पार्ने क्रममा चितवनका तीव्र गतिका बलरद्वय सोहेल तन्विर र रिजन ढकालले आफ्नो पहिलो ओभरमा उत्कृष्ट बलिङ गरेका थिए। दुवै बलर बायाँ हाते हुन्। बायाँ हाते बलरका अघि पोखराका ब्याटर फिक्का दिएका थिए।
चितवनले दिएको १६२ रनको लक्ष्य पछ्याएको पोखरा १३.२ ओभरमै केवल ७४ रनमा अलआउट भयो।
उत्कृष्ट लयमा देखिएका चितनवका पाकिस्तानी तीव्र गतिका बलर सोहेल तन्विरले पहिलो ओभरमै तीन विकेट लिए। उनले पहिलो बलमै पोखराका कप्तान कुशल भुर्तेललाई रवी बोपराबाट क्याच गराए। पाँचौं बलमा उनले दिलीप नाथलाई दीपक बोहराबाट क्याच गराए। अन्तिम बलमा बास डि लिडे बेन्केस्टाइनबाट क्याच भए। पहिलो ओभरमा तन्विरले तीन विकेट लिँदा चार रन दिए।
सन् २००८ मा राजस्थान रोयल्सबाट आइपिएल जितेका तन्विरले पाकिस्तानी टोलीबाट सन् २००९ को टी-२० विश्वकप जितेका थिए। तन्विरले काठमाडौं गुर्खाजविरूद्धको पहिलो खेलमा पाँच विकेट लिएका थिए।
चौथो ओभरमा चितवनका रिजन ढकालले पनि उत्कृष्ट बलिङ गरे। उनले पनि यो ओभरमा तीन विकेट लिँदा पोखराले चार ओभरमा ७ रन मात्र जोड्दा ६ विकेट गुमाइसकेको थियो। चौथो ओभरमा रिजनले पहिलो बलमा दिनेश खरेललाई एक रनमा एलबिडब्लूको धरापमा पारे। चौथो बलमा पनि उनले किरण ठगुन्नालाई एलबिडब्लू आउट गरे। अन्तिम बलमा माइकल लिस्क पनि एलबिडब्लूकै धरापमा पर्दा पोखराको ब्याटिङ ध्वस्त भएको थियो।
सातौं विकेट लुक बेन्केस्टाइनको नाममा रह्यो। उनले रेमण्ड राइफरलाई १ रनमा विकेटकिपर विपिन रावलबाट क्याच गराए।
त्यसपछि मार्सक क्रिचली र नारायण जोशीले पोखराको इनिङग्सलाई अघि बढाउन खोजे। ३० रनको साझेदारी गरेपछि क्रिचली पनि बेन्केस्टाइनको एलबिडब्लूकै धरापमा परे। क्रिचलीले १६ बलमा १७ रन जोडे।
पोखराका लागि सर्वाधिक रन जोडेका नारायणले ३० रन जोडे। उनले २४ बलमा ३ चौका र २ छक्का प्रहार गरे। अन्तिम विकेटको रूपमा विपिन खत्री ९ रनमा आउट भए।
खेलमा पोखराका शीर्ष सात ब्याटर दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए। जसमा तीन ब्याटरले खाता खोल्न सकेनन् भने तीन ब्याटर एक एक रनमा आउट भए।
बलिङमा चितवनका तन्विर, रिजन र बेन्केस्टाइनले तीन तीन विकेट लिए। तन्विरले तीन ओभरमा एक मेडन राख्दा ६ रन दिए। रिजनले पनि तीन ओभरमा एक मेडन राखे भने १० रन खर्चिए। बेन्केस्टाइनले चार ओभरमा ३७ रन खर्चिए।






















Discussion about this post