निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गरिरहेको संसदीय छानबिन विशेष समितिको म्याद सात दिन थपिएको छ।
बजेट निर्माण गर्दा तत्कालीन अर्थमन्त्री शर्माले अनधिकृत व्यक्तिलाई प्रवेश गराई करका दर हेरफेर गरेको आरोप लागेपछि संसदीय छानबिन समिति बनेको थियो।
जनार्दनले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश र करका दर तोडमोड गरेको आरोप लागेपछि गत असार २२ गते समिति बनाइएको थियो।
बिहीबार बिहानमात्रै यो समितिले निवर्तमान अर्थमन्त्री शर्मासँग बयान लिएको थियो। शर्माले लामो बयान दिँदै समितिलाई स्पष्ट पार्न खोजेका थिए।
गत असार २२ मा बनेको समितिको म्याद १० दिन दिइएको थियो। उक्त समितिको म्याद आज सकिएको थियो।
सभामुख अग्निप्रसाद सापकोटाले उक्त छानबिन समितिको म्याद सात दिन थपेको संसदमा घोषणा गरेका थिए।
उक्त विषयबारे आधार र प्रमाणसहित निष्कर्षमा पुग्न र प्रतिवेदन पेश गर्न आवश्यक समय थप गर्न लेखिआएको भन्दै सभामुख सापकोटाले म्याद थप गर्न प्रतिनिधि सभामा सहमति जनाउन अनुरोध गरेका थिए।
सांसदहरूले सहमति जनाएपछि उक्त समितिको म्याद सात दिन थप भएको छ।
Discussion about this post