अल्फा बिटा समूहले नयाँ बानेश्वरको अल्फा बिटा कम्प्लेक्सको भुईं तल्ला व्यवसायीक प्रयोजनका लागि काठमाडौं महानगरपालिकालाई थप दस्तुर बुझाएको दाबी गरेको छ।
एक विज्ञप्ति जारी गर्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह सहितको टोलीले निरीक्षणका क्रममा भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको अल्फा बिटा समूहले बताएको छ।
अल्फाका संचालक शर्माले भवन निर्माण सम्पन्नता प्रमाणपत्र सार्वजनिक गर्दै कानुन अनुसार नै संचालन गरेको दाबी गरेका छन्।
अल्फा हाउसले भने बुधबार एक विज्ञप्ति जारी गर्दै प्रचलित कानुनको अधिनमा रहि अल्फा केयरद्धारा संचालित फार्मेसी प्रचलित कानुनको अधिनमा रहेर नै संचालन गरेको दाबी गरेको छ।
‘अल्फा बिटा कम्प्लेक्सको भुई तल्लालाई व्यवसायीक प्रयोजनकालागि उपयोग गर्न काठमाडौँ महानगरपालिकाको मिति २०७५–११–२ को भवन निर्माण सम्पन्न प्रमाण पत्र अनुसार अभिलेखिकरण गराई थप दस्तुर महानगरपालिकामा बुझाएका थियौँ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘सोहि अनुसार सो तल्ला प्रयोग गरि आएका थियौँ। साथै, हाम्रो भगिनी संस्था अल्फा केयरद्वारा सन्चालित फार्मेसी पनि प्रचलित कानूनको अधिनमा रहेर नै सन्चालित रहेको कुरा जानकारी गराउँदछौं।’
आफूहरुबाट केही कमीकमजोरी भएको देखिएमा तत्काल सच्याउने उल्लेख गर्दै बदनियत पूर्वक केही निहीत स्वार्थपुर्तिको हेतुले सो काम गरिएको आरोप अल्फाले लगाएको छ।
‘बदनियत पूर्वक, केही निहित स्वार्थपुर्ति हेतु संचालित समूहद्वारा यो मौकाको गलत फाइदा उठाउने नियतले हाम्रो व्यक्तिगत जीवन र ३ दशक लामो स्थापित संस्थाप्रति आँच आउने किसिमको सूचना प्रबाह गरिएकोमा घोर भत्र्सना गर्दछौं,’ अल्फाले विज्ञप्तीमा भनेको छ।
त्यस्ता कुनै पनि व्यक्ति वा संस्था प्रति प्रचलित कानुन बमोजिम कानुनी उपचार खोज्ने अल्फाले जनाएको छ।
Discussion about this post