Khabar Samachar

बालबालिकामा क्यान्सर किन हुन्छ? कस्ता क्यान्सर बढी देखिएको छ?

208
VIEWS

अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। नेपालमा वार्षिक १५०० जति बालबालिकाहरुमा नयाँ क्यान्सर हुने अनुमान गरिएको छ। बाल क्यान्सर सम्पूर्ण क्यान्सरहरुमा छैठौं र बाल स्वास्थ्य समस्याहरुमा नवौं प्रमुख जनस्वास्थ्य समस्या हो। नयाँ बिरामीमध्ये बाल क्यान्सरको उपचारको पहुँचमा करिब एकतिहाइ मात्र रहेको चिकित्सकहरु बताउँछन्।नेपालमा उपचारको पहुँचमा पुगेकामध्ये करिब ७० प्रतिशत निको हुने गरेको तथ्यांक रहेको कान्ति बाल अस्पतालका बाल क्यान्सर रोग विशेषज्ञ डा विष्णु रथ गिरीले बताए।

बालबालिकामा क्यान्सर किन हुन्छ?
बालबालिकामा क्यान्सर हुने एकिन कारण त पत्ता लागेको छैन। तर डिएनएमा थुप्रै किसिमका ड्यामेजहरु हुन्छन्। ती ड्यामेजहरु थुप्रिदै जाँदा बालबालिकामा क्यान्सरको रुपमा कन्भर्ट हुन्छ।

बालबालिकामा हुने क्यान्सर कस्तो खालको क्यान्सर हो? 
बालबालिका र वयस्कमा हुने क्यान्सर भनेको लगभग उस्तै प्रकृतिको हुन्छ। तर बालबालिकामा हुने विशेष क्यान्सर भनेको रक्त क्यान्सर, आँखाको क्यान्सर, मिर्गौलामा क्यान्सर आदि हुन्।  अन्य क्यान्सर सबै मानिसमा उस्तै हुन्छ। क्यान्सर लाग्नु भनेको शरीरमा आवश्यक भन्दा बढी मात्रामा कोषहरुको वृद्धि हुुनु हो। जसले गर्दा ती कोषिकाहरुले शरीरमा राम्रोसँग काम गर्न सक्दैनन्। त्यसले नजिकका कोष र शरीरलाई हानि गर्छ। कतिपय अवस्थामा त निकै जटिल भएर मानिसको ज्यान नै जानसक्छ।

कान्ति बाल अस्पतालमा कस्ता क्यान्सरका बिरामी बढी छन्?
कान्ति बाल अस्पतालमा रगतसँग सम्बन्धित क्यान्सर भएका बालबालिकाहरु बढी उपचारका लागि आएका छन्।  रगतसँग सम्बन्धीत लिम्फोमा क्यान्सरहरु पनि हुन्छन्। ती सबै गरी करिब आधा बिरामी रगतसँग सम्बन्धित नै छन्। त्यसपछि मिर्गौलाको क्यान्सर र आँखाको रेटिनोब्लास्टोमा पनि धेरै हुन्छ। यस्तै अन्य क्यान्सरका बालबालिकाहरु पनि उपचारका लागि आउँछन्। कान्ति बाल अस्पतालमा भर्ना गरेर उपचार गर्नुपर्ने क्यान्सरका बिरामी बालबालिकाका लागि २६ वटा बेड छ। त्यो बाहेक भर्ना नगरी दिनभरी औषधि लगाएर जानुपर्ने बिरामीका लागि ८ वटा बेड डे केयर सेन्टर पनि छ। यो हिसाबले करिब ३०० जना नयाँ बिरामी भएमा थेग्नसक्ने हुनसक्छौं। तर त्यसका लागि जनशक्तिको भने अभाव नै छ। गतवर्ष १८७ जना क्यान्सरका नयाँ बिरामी उपचारका लागि आउनुभएको थियो। अहिले २०० जनाले उपचार सेवा लिइरहेका छन्। हरेक वर्ष २५ देखि ३५ को दरमा बिरामीको संख्या बढ्दै छ।

२०१६ मा एकवर्षमा ४६ जना क्यान्सरका बिरामी थिए। अहिले २०० पुगेको छ। नेपालभरीको तथ्यांक हेर्नुपर्दा हामीकहाँ करिब १५०० बिरामी हुनुपर्ने हो। त्यसको लागि पूर्वाधार र जनशक्ति तयार गर्नुपर्छ।

हाम्रो वार्डमा किमो थेरापी, नयाँ डाइग्नोसिस र जटिलता भएर भर्ना भएका बिरामी अहिले १८ जना छन्। कहिलेकाँही २६ बेड नै भरिने अवस्था पनि हुनछ। डे केयरमा ८ बेड मात्र भएकाले त्यहाँ चाप नै छ।

करिब आधा बिरामी रक्त क्यान्सरको भन्नुभयो, बालबालिकामा रक्त क्यान्सर भएको कसरी थाहा पाउन सकिन्छ? यसको लक्षण के हो?
सामान्यतया बालबालिकालाई लामो समयसम्म ज्वरो आउने तर ज्वरोको कारण भेटिदैन। कतिपय अवस्थामा रगत बग्ने, शरीरमा निलो डाम देखापर्छ। बालबालिकाले शरीर दुख्यो भन्छन् तर उनीहरुको हडडी दुखेको हुनसक्छ। यस्तो लक्षण पनि देखिन सक्छ। शरीरमा रगतको कमी भएर सेतो, पहेंलो हुने, कमजोर हुने जस्ता लक्षण हुनसक्छन्।

अभिभावकले आफ्ना बालबालिकालाई क्यान्सर भएको कसरी थाहा पाउने?
लक्षणबाट बालबालिकामा हुने क्यान्सरको आशंका गर्न सकिन्छ। बालबालिकाको आँखाको नानीमा सेतो फुलो देखियो भने आँखाको क्यान्सर हुनसक्छ। बालबालिकालाई तेल लगाउने क्रममा पेटमा ठूलो डल्लो भेटियो भने त्यो पनि क्यान्सर हुनसक्ने आशंका गर्न सकिन्छ। ती बाहेक शरीरमा विभिन्न किसिमका गाँठागुठी आएको छ भने नआत्तिकन स्वास्थ्यकर्मीको परामर्श तथा उपचार सेवा लिनुपर्छ। कुनै पनि बालबालिकामा स्वास्थ्य समस्या देखिएमा तुरुन्त नजिकको स्वास्थ्यसंस्थामा जाँच गराउनुपर्छ। स्वास्थ्यसंस्थामा स्वास्थ्यकर्मी चिकित्सकले आफ्नो विशेषज्ञताको आधारमा लक्षण र चिन्हको आधारमा जाँच गराउछन्।  यदी स्वास्थ्य समस्याको कारण पत्ता लागेन भने बाल रोग विशेषज्ञकहाँ रेफर गर्नुहुन्छ। बाल रोग विशेषज्ञबाट क्यान्सर भएका बालबालिका पत्ता लगाउन सकिन्छ। नेपालमा जहाँ–जहाँ बाल रोग विशेषज्ञ छन्। उनीहरुले क्यान्सर पत्ता लगाउन सक्छन्।

क्यान्सर भएका बालबालिकाहरु सुरुवाती अवस्थामै उपचारका लागि आइरहेका छन्?
सामान्यतय ट्युमरहरु, मिर्गौलाको क्यान्सर, अन्य क्यान्सर नदुखिकन पेटभित्र लामो समयसम्म बस्न सक्छ। लक्षणहरु निकै सुस्त गतिमा देखिने भएकाले यस्तो क्यान्सर भएका बालबालिका उपचारका लागि ढिला आइरहेको पाइन्छ। उनीहरु विशेषगरी क्यान्सर भएको ३,४ महिनापछि मात्र उपचारका लागि अस्पताल आइपुगेको पाइन्छ। रक्त क्यान्सरको हकमा लक्षण भएको पहिलो एक महिनादेखि डेढ महिनामा आएर उपचार सुरु गरिसकेका हुन्छन्।

क्यान्सर भएका बालबालिकाको उपचार समयावधि कति हुन्छ?
रक्त क्यान्सर बाहेकका क्यान्सरको उपचार ६ देखि ८ महिनाको हुन्छ। तर रक्त क्यान्सरको उपचारमा भने ६ देखि ८ महिना सघन उपचारपश्चात लो इन्टेनसिटीको उपचार छोराको हकमा  ३ वर्ष र छोरीको उपचार २ वर्षसम्म हुन्छ। पहिलो ६ देखि ८ महिनासम्ममा हाइ डोजको औषधिहरु प्रयोग गरिन्छ। उनीहरुको शरीरमा भएको क्यान्सरलाई बढी इन्टेनसिटी उपचार गर्छौं। यसको उद्धेश्य क्यान्सरबाट बालबालिकालाई फ्रि बनाउनु हो। त्यसको दुई वर्षसम्म लो डोजको औषधि दिएर निर्मूल पार्ने हो। ताकी फेरि क्यान्सर नदोहोरियोस् भन्ने उद्धेश्य हो।

सरकारले क्यान्सरको उपचारमा दिने सहुलियत क्यान्सर भएका बालबालिकाका लागि पर्याप्त छ?
सरकारको सहुलियतले सहयोग त पुर्‍याएको छ। तर पर्याप्त छैन। एकलाख रुपैयाँले पुग्दैन। एउटा आर्थिक क्रियाकलापमा सक्रिय आमाबुबा आफ्नो सन्तानलाई क्यान्सर भएपछि अर्को शहरमा बस्नुपर्ने अवस्था छ। यसमा निकै ठूलो आर्थिक विपत्ति आइपर्छ। त्यसलाई पनि व्यवस्थापन गर्नुपर्ने देखिन्छ। उपचारको मात्र होइन, बस्ने खाने र गुमेको आम्दानीलाई पनि व्यवस्थापन गर्नुपर्छ।
सरकारले एकलाख दिन्छ। तर बालबालिकाको क्यान्सरको उपचारमा अस्पतालभित्र मात्र कम्तिमा पनि ४ देखि ५ लाखसम्म खर्च हुन्छ। त्यतिमात्र राज्यले वेहोर्दियो भने अभिभावकले अन्य बस्ने खाने व्यवस्थापन गर्न सहज हुन्थ्यो।

नेपालमा क्यान्सर भएका बालबालिका कति छन्? उपचारको पहुँचमा कति छन्? 
यसको यकिन तथ्यांक दिन गाह्रो छ। तर अनुमानित वार्षिक १५००  बालबालिकामा क्यान्सर हुन्छ। अहिले कतिले उपचार पाइरहेका छन् भन्ने एकिन तथ्यांक दिन पनि गाह्रो छ। किनकी कान्ति बाल अस्पतालमा उपचार गराउने बालबालिका रेडियसन थेरापीका लागि भक्तपुर क्यान्सर अस्पताल जान्छन्। आँखाको क्यान्सर भएका बालबालिकाहरु तीलगंगा वा त्रिवि शिक्षण अस्पताल जान्छन्। यसरी सहकार्यमा उपचार हुन्छ। यसले गर्दा अस्पतालवेसमा हुने तथ्यांक पनि दोहोरिएको हुनसक्छ। सबै अस्पतालहरुको तथ्यांक हिसाब गर्दा करिब करिब ५०० जना जतिले उपचार गराइरहेको हुनसक्छ। त्यो भनेको एकतिहाइले मात्र उपचार पाइरहेका छन्।

किन क्यान्सरका बालबालिका उपचारको पहुँचमा छैनन्? 
यसको केही कारणहरु छन्। एउटा जनचेतनाको कमी हो। नेपालमै बालबालिकामा हुने क्यान्सर निको हुने गरी उपचार हुन्छ। र सरकारी अस्पतालमा कम खर्चमा हुन्छ भन्ने जानकारी सबैमा पुर्‍याउन सकिएको छैन। अर्को क्यान्सर लागेपछि मान्छे मरिहाल्छ भन्ने भनाइ बालबालिकाको हकमा गलत हो। यो गलत हो भन्ने कुरा सबैलाई बुझाउन सकिएको छैन। क्यान्सर भएका बालबालिका क्यान्सरको उपचार हुने ठाउँसम्म आइपुग्नै सकेका छैनन्। प्राथमिक स्वास्थ्य केन्द्र तथा जिल्ला अस्पतालमै क्यान्सर पत्ता लागेपछि घर फर्किरहेका हुनसक्छन्।

बालबालिकामा हुने क्यान्सरको उपचारमा सहज पुहँचका लागि राज्य र सरोकारवालाले के गर्नुपर्छ? 
पहिलो कुरा त बाल क्यान्सर सम्बन्धि राष्ट्रिय नीति हुनुपर्छ। केके गर्नुपर्ने आवश्यकता छ? भनेर पहिचान हुनुपर्छ। वार्षिक लक्ष्य निर्धारण हुनुपर्छ। त्यसको खर्चको हिसाब गरी खर्चको स्रोतको पहिचान पनि हुनुपर्छ।

दोस्रो कुरा जनचेतना वृद्धि गर्ने हो। अहिले राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रले पनि बालबालिकामा हुने क्यान्सरलाई सचेतनाको कार्यक्रम भित्र समावेश गरेको छ। बालबालिकामा हुने क्यान्सरको नेपालमै उपचार छ। सरकारी अस्पतालमै सस्तोमा उपचार सम्भव छ र निको हुन्छ भन्ने सन्देश दिन आवश्यक छ। तेस्रो कुरा बालबालिकामा हुने क्यान्सर रोकथाम गर्न सकिँदैन। तर छिटो पत्ता लगाएर उपचार गर्न सकिन्छ।  त्यसैले प्राथमिक स्वास्थ्य सेवा प्रदान गर्ने प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला अस्पतालमा बालबालिकाको क्यान्सर पत्ता लागाउने क्षमता तथा प्रविधिको विकास गर्नुपर्छ।

अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवसको अवसरमा के सेन्देश दिन चाहनुहुन्छ?
अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवसको यो वर्षको नारा बेटर सर्भिस पोसिबल थ्रु योर ह्याण्ड अर्थात सबैले सहकार्य गरेमा बाल क्यान्सरको उपचार सेवालाई सुदृढ गर्न सकिन्छ भनिएको छ। म के भन्न चाहन्छु भने बालबालिकामा हुने क्यान्सर छिटो पहिचान गरेर उपचार हुने केन्द्रसम्म बालबालिकालाई लेराउँ, उपचार नेपालमै सम्भव छ, कम खर्चमै सम्भव छ, सरकारी संस्थाहरुमा नै सम्भव छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित