Khabar Samachar

विद्युतका पोलमा तानिएका तार ४५ दिनभित्र हटाउन अल्टिमेटम

225
VIEWS

नेपाल विद्युत प्राधिकरणले आफ्नो स्वामित्वमा रहेका विद्युतीय पोलमा तानिएका केबल टेलिभिजन, इन्टरनेट, टेलिफोनका तार तथा उपकरणहरू व्यवस्थापन गर्न सेवा प्रदायकहरूलाई ४५ दिनको समयसीमा दिएको छ।

प्राधिकरणले मंगलबार सार्वजनिक सूचनामार्फत दूरसञ्चार, केवल टिभी तथा इन्टरनेट सेवा प्रवाहका लागि विद्युतीय पोलमा राखिने संरचनाको मापदण्ड तोक्दै सोहीअनुसार व्यवस्थापन गर्न सेवा प्रदायकहरूलाई आग्रह गरेको छ।

विद्युतीय पोल प्रयोग गरी अव्यवस्थित तरिकाले तानिएको र प्रयोगमा नरहेका अनावश्यक अप्टिकल फाइबर, केबल पोलमा जथाभावी झुण्डयाइएका उपकरणहरूका कारण सहरलाई कुरूप बनाएको छ। आगलागी लगायतका विद्युतीय दुर्घटनाहरू बढ्दै गएको र यसबाट प्राधिकरणले प्रवाह गरिरहेको विद्युतीय सेवामा समेत अवरोध उत्पन्न भएको छ।

आगलागी लगायत विद्युतीय दुर्घटना न्यूनीकरण गरी भरपर्दो विद्युत सेवा उपलब्ध गराउन र सहरी सुन्दरता समेत कायम राख्न दूरसञ्चार, केबल टिभी र इन्टरनेट सेवा प्रदायकहरूलाई  आफ्नो संरचना निर्माण/व्यवस्थापन गर्न समयसीमा सहित सार्वजनिक रूपमा आग्रह गरिएको प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले बताए।

‘तोकिएको समयमा व्यवस्थापन गर्ने/नगराउने सेवा प्रदायकहरूको केबल लगायतका उपकरणहरू नेपाल विद्युत प्राधिकरण ऐन,२०४१ बमोजिम प्राधिकरण आफैंले हटाउने र यसबाट हुन सक्ने नोक्सानीको लागि सम्बन्धित सेवा प्रदायक स्वयं नै जिम्मेवारी हुनु पर्ने छ,’ उपकार्यकारी निर्देशक सिलवालले भने,‘अव्यवस्थित तारको गुजुल्टोको कारण सहर कुरूप बनेको छ, आगलागी भई धनजनको क्षति भएको छ, हाम्रो सेवा प्रवाह प्रभावित भएको छ, सहरी सौन्दर्यता कायम गर्न विद्युतीय दुर्घटनालाई न्यूनिकरणका लागि हाम्रा संरचनामा राखिने विभिन्न सेवा प्रदायकका तार तथा उपकरणहरूका लागि मापदण्ड तयार गरी व्यवस्थापन गर्न लागिएको हो।’

प्राधिकरणले अप्टिकल फाइबर/केबल र र विद्युत लाइन तथा भू-सतहबीचको न्यूनतम दूरी तोकेको छ। ४०० भोल्टको नाङ्गो तथा इन्सुलेटेड तार र  केबलबीचको न्यूनतम दूरी क्रमश: ८०  र ३० सेन्टिमिटर हुनु पर्ने छ। ११ केभी र ३३ केभी लाइन र केबलबीचको न्यूनतम दूरी २ मिटर हुनु पर्ने छ। अन्य ४०० भोल्टका उपकरणहरूसँगको न्यूनतम दूरी ७५ सेन्टिमिटर हुनुपर्ने छ। अप्टिकल फाइबर/केबल र जमिन सतहबीच पैदलमार्गमा २.४ मिटर र सडकमा ५.५ मिटर तोकिएको छ। न्यूनतम दूरी कायम कायम नगरी सर्भिस केबलमार्फत् ग्राहकलाई कनेक्सन दिन रोक लगाइएको छ।

राउटर, अप्टिकल फाइबर वितरण बक्सजस्ता उपकरणहरू पोलको एउटै मात्र भागमा क्रमैसँग मिलाएर नझर्ने, नहल्लिने गरी जडान गरी र सफासँग क्लिप प्रयोग गरी वाइरिङ गर्नु पर्ने छ।

प्रयोगमा नरहेका तार र अन्य उपकरणहरू तत्काल हटाउनु पर्ने छ।  पोलहरूमा  लुप बनाएर राखिएका तार तत्काल हटाउने र नयाँ तारहरू तान्दासमेत अतिरिक्त लम्बाइका लुप बनाएर पोलमा झुण्डाउन नपाउने व्यवस्था गरिएको छ।

सेवा प्रदायकहरूले निजहरूको तार सजिलोसँग छुट्टयाउन सक्ने गरी प्रत्येक पोलमा केबल ट्याग लगाउनु पर्ने छ। पोलमा जडित उपकरणहरूमा समेत मार्किङ गर्नु पर्ने छ।

सम्भव भएसम्म धेरै कोर भएको केबल तानी बहुसंख्यक सेवा प्रदायकले सहप्रयोग गर्ने गरी सेवा विस्तार गर्नु पर्ने छ।  तारहरूलाई सडक वारपार तान्न रोक लगाइएको छ भने तानिएका केवलहरू हटाउनु पर्ने छ।

तोकिएका मापदण्ड तार तथा उपकरणहरूलाई सेवा प्रदायहरूले ४५ दिनभित्रमा व्यवस्थित गरी प्राधिकरणको सम्वन्धित वितरण केन्द्रलाई जानकारी गराउनु पर्ने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित