विश्वभरी नेपाललाई चिनाइरहेको कुमारीको रथजात्रा सहित विभिन्न साँस्कृतिक झाँकिहरुको जात्रा ईन्द्रजात्रा काठमाडौंमा  शुरु भएको छ । हनुमानढोकास्थित कालभैरवको अगाडि यःसिँ ठड्याइएसँगै काठमाडौं ईन्द्रजात्रामय बनेको छ ।

प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकामा चित्तपोलबाट ल्याइएको सल्लाको यःसिँ उठाउने गरिन्छ । उक्त यःसिँ भक्तपुर चित्तपोलस्थित यःसिँगुँ नामक जंगलबाट विधिवत पूजाआजा गरी मानन्धरहरुले ल्याउने गर्छन् । यःसिँ उठाइएसँगै ईन्द्रजात्राको विधिवत् शुरुवात भएको मानिन्छ । नेवार समुदायभित्र सायमि भनिने मानन्धरहरुबाट यःसिँ उठाउने गरिन्छ ।

पछिल्लो समय यःसिँलाई लिङ्गो पनि भन्न थालिएको छ । स्थानीयले साँस्कृतिक नामलाई परिवर्तन हुनुनहुने भन्दै आएका छन् । यःसिँ कुनै लिङ्गो नभएको र यसलाई प्राचीन नाम यःसिँबाटै चिनाइनुपर्ने स्थानीयको भनाई छ ।

यःसिँमा अष्टमंगलका प्रतीक चिह्नअंकित पताका झुण्ड्याइएको हुन्छ भने फेदमा ऐरावत हात्तीमाथि चढेका ईन्द्रको मूर्ति राखिन्छ । ईन्द्रध्वजारोहण पनि भनिने यःसिँ उठाउने कार्य भने राजा प्रतापसिंह शाहले चलाएको बताइन्छ ।

इन्द्रजात्राभर काठमाडौंको मरुटोलमा अग्लो डबली बनाइ इन्द्रको मूर्तिलाई डोरीले बाँधेर राख्ने चलन छ । आमाको ब्रतका लागि पारिजातको फूल लिन पृथ्वीलोकमा आएका देवराज इन्द्रले मालीलाई नसोधी फूल टिपेको आरोपमा उनलाई डोरीले बाँधेर सबैलाई देखाइएको संकेतकारुपमा यसरी मूर्ति राख्ने गरिएको किम्बदन्ती रहेको छ ।

अन्य दिनमा बन्द रहने श्वेत भैरवको मूर्ति सर्वसाधारणको दर्शनका लागि पनि यसैदिनबाट खुला गरिन्छ ।

द्वादशीकै दिन दिउँसो पितृमोक्षको कामनासहित उपाकू जाने चलन पनि रहेको छ । वर्षभरिमा परिवारमा दिवंगत भएकाको मोक्षको कामना गर्दै परिवारजन बाटोमा काँचो दियो दान गर्दै तत्कालीन खड्ग आकारको कान्तिपुर नगरको सीमारेखा परिक्रमा गर्ने गर्दछन् ।

यसैदिन राती ईन्द्रचोकमा रहेको आकाशभैरवको मूर्तिलाई बाहिर खटमा राख्न ल्याइन्छ । ईन्द्रजात्रा अवधिभर इन्द्रचोकमा आकाशभैरवको मूर्तिलाई मन्दिरको बाहिर खटमा राखी प्रदर्शन गरिन्छ ।

भाद्र शुक्ल चतुर्दशीका दिन बसन्तपुर दरबारस्थित गद्दी बैठक अगाडिबाट जीवित देवी कुमारी, भैरव र गणेशलाई रथमा राखी रथजात्रा शुरु हुन्छ । यो दिनलाई स्थानीय नेपालभाषामा क्वःनेयाः भनिन्छ । यो दिन कुमारी, भैरव र गणेशको रथलाई बसन्तपूरबाट मरु, चिकंमुगल, जैसीदेवल, लगन, ब्रम्हटोल, ह्यूमत, क्वहिटि, भीमसेनस्थान हुँदै मरुबाट वसन्तपुरमै पुगेर समापन हुन्छ । सो दिन राष्ट्रप्रमुखलेसमेत रथयात्रा अवलोकन गर्ने र कुमारी, भैरव र गणेशको दर्शन गर्ने चलन रहेको छ ।

त्यसको भोलिपल्ट भने थःनेयाः भनिन्छ । यो दिन रथलाई वसन्तपुरबाट तानेर प्याफल, यट्खा, नरदेवी, त्यंगल, न्ह्यौखा, बाङ्गेमुढा, न्हायकंटोल, असन, बालकुमारी, जनबहाल, ईन्द्रचोक, मखन हुँदै वसन्तपुरमै पुगेर रथ जात्रा सम्पन्न हुन्छ ।

यो दिनलाई स्थानीय नेवारहरु समयबजि पुन्हि पनि भन्ने गर्छन् । यो दिनमा घरघरमा समयबजि तयार गरी खाने र बाँड्ने गरिन्छ । यो दिनमा समूह मिलेर ला छकू वयक समबजि भन्दै टोलटोलमा समयबजि माग्ने चलन पनि रहेको छ ।

रथजात्राको क्रममा किलागलको पुलुकिसि, मजिपाटको लाखे लगायत पनि रथजात्रा सँगै घुम्ने चलन रहेको छ । ईन्द्रजात्रा अवधिभर पुलुकिसिको साथै हलचोकको सवःभकु आकाशभैरव, भक्तपुरको महाकाली नाच आदि पनि प्रदर्शन हुने गर्दछ । साथै ईन्द्रजात्रा अवधिभर नै वसन्तपुरस्थित कुमारी अगाडि रहेको दशअवतार मन्दिरमा दशअवतार पनि प्रदर्शन गरिन्छ ।

इन्द्रजात्राको अन्तिम दिनलाई ‘नानीचायाः’ भन्ने गरिन्छ ।  आश्विन कृष्ण चतुर्थीको दिन रथलाई तानेर बसन्तपुरबाट प्याफल, यट्खा, नरदेवी, किलागल, भेडासिं, ईन्द्रचोक, मखन हुँदै बसन्तपुर पुगेर समापन गरिन्छ ।

सोही दिन हनुमानढोकामा ठड्याइएको यःसिँलाई ढालिन्छ । यःसिँलाई ढालेर वाग्मती नदीमा बिसर्जन गरेपछि जात्रा औपचारिक रुपमा समापन हुने गर्दछ ।

इन्द्रजात्रा काठमाडौंमा विशेष रुपमा मनाइने भएपनि ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानहरुमा पनि यो जात्रा धुमधामका साथ मनाउने गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय