Khabar Samachar

रवि लामिछानेविरुद्ध परेका ३ उजुरी खारेज, उम्मेदवारी कायम

222
VIEWS

चितवन क्षेत्र नम्बर २ मा हुन लागेको प्रतिनिधिसभाको उपनिर्वाचनका लागि उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारी कायम भएको छ । लामिछानेको उम्मेदवारीविरुद्ध परेका ४ वटा उजुरीमध्ये ३ वटा उजुरीमाथिको दाबी नपुगेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनले खारेज गरेको हो ।उनका प्रतिस्पर्धी उम्मेदवारले गरेको दाबी विरोध खारेज भएसँगै उनको उम्मेदवारी कायम भएको छ । लामिछानेको उम्मेदवारी विरुद्ध इमेलबाट उजुरी गरेका युवराज पौडेल सफलको उजुरीमाथि निर्णय गर्न आयोगको केन्द्रीय कार्यालयमा पठाइएको चितवनका मुख्य निर्वाचन अधिकृत बासुदेव शर्माले रातोपाटीलाई जानकारी दिए ।

युवराज सफलले गरेको उजुरीमाथि निर्णय गर्ने आफ्नो क्षेत्राधिकार नभएको निर्वाचन आयोगमा पठाइएको शर्माले जानकारी दिए । लामिछाने विरुद्ध राष्ट्रिय जनमोर्चाका उम्मेदवार जनकराज शर्मा, स्वतन्त्र उम्मेदवार सन्तोष थापा र शिवहरि सुवेदीले दाबी विरोध दर्ता गरेका थिए । उनीहरुले नेपाली नागरिकता लिएको समय अवधि नपुग्ने भएकाले उम्मेदवारी रद्द गर्नुपर्ने माग गरेका थिए । तर निर्वाचन अधिकृतको कार्यालयले सो दाबी विरोध नपुग्ने भन्दै रद्द गरेको हो । उनीहरू ३ जनाले गरेको दाबी विरोधविरुद्ध लामिछानेले दिउँसो १ बजे अगाडि आफ्नो प्रस्टीकरण निर्वाचन अधिकृतको कार्यालयमा बुझाएका थिए ।

  मुख्य निर्वाचन अधिकृत शर्माले भने– ‘प्राकृतिक न्यायको सिद्धान्त अनुसार कुनै व्यक्तिले अर्को व्यक्ति विरुद्ध उजुरी गर्छ भने त्यसबारे निर्णय गर्नका लागि उजुरी परेको मान्छेको पनि कुरा सुन्नुपर्ने हुन्छ । ३ वटा दाबी विरोधमाथि उम्मेदवार रवि लामिछानेले प्रस्टीकरण दिनुभएपछि त्यसलाई अध्ययन गरेर दाबी नपुग्ने भएपछि खारेजीको निर्णय गरिएको हो ।’
 यस्तै युवराज सफलले गरेको उजुरी उम्मेदवार बाहिरबाट परेकोले त्यसबारेमा ७ दिनभित्र निर्णय गर्न भन्दै आयोगमा पठाइएको छ । सफलको उजुरीमाथि लामिछानेले पनि ७ दिनभित्र आफ्नो स्पष्टीकरण आयोगमा पेस गर्नुपर्नेछ ।

शर्माले भने–‘ उम्मेदवार रवि लामिछानेले ७ दिनभित्र हाम्रो कार्यालयमा युवराज सफलले गरेको उजुरीमाथि प्रस्टीकरण दिनुपर्नेछ । त्यो प्रस्टीकरण हामी निर्वाचन आयोगमा पठाउँछौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनको दफा १५ अनुसार उम्मेदवारविरुद्ध जसले पनि उजुरी गर्न पाउने व्यवस्था बमोजिम सफलको उजुरी परेको हो । यो मैले निर्णय गर्न पाउने क्षेत्राधिकार बाहिरको कुरा हो यसबारे आयोगले निर्णय गर्छ ।’

युवराज सफलले गरेको उजुरीमाथि ७ दिनभित्र निर्णय गरेर त्यसको जानकारी आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनमा पठाउनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित