गौर हत्याकाण्डविरुद्ध आज रौतहटको गौरमा पीडितहरूले प्रदर्शन गरेका छन् । उनीहरूले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवविरुद्ध समेत नाराबाजी गरे ।
गौर हत्याकाण्डपीडित संघर्ष समितिले घटनामा दोषीलाई अविलम्ब कारबाही गर्नुपर्ने माग राखेर प्रदर्शन गरेको हो । समितिका संयोजक रुपसागर देवीको नेतृत्वमा भएको प्रदर्शनमा सहभागीहरुले मुख्यदोषी उपेन्द्र यादवलाई कारबाही गर, पीडितलाई न्याय देऊ, हत्यारालाई बचाउन पाइँदैनजस्ता नारा लगाएका छन् ।
उनकै नेतृत्वमा रौतहटका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै रौतहट जिल्ला अनिश्चितकालीन बन्दको घोषणा गरिएको छ ।
संघर्षका कार्यक्रम अनुसार आज प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ भने साउन २ गतेदेखि १२ गतेसम्म पालिकाहरूमा गौर हत्याकाण्डबारे जानकारी गराउने एवं अन्तरक्रिया गर्ने, साउन १३ गते शहीदपरिवार एवं पीडित धर्ना दिने, साउन १४ गते मोटरसाइकल रैली निकाल्ने र साउन १५ गतेदेखि अनिश्चितकालिन रौतहट बन्द गरिने ज्ञापनपत्रमा उल्लेख छ ।
प्रदर्शनकारीले उपेन्द्र यादव नेतृत्वको जत्थाले जघन्य अपराध गरेको आरोप लगाइएको छ ।
उक्त हत्याकाण्डमा संलग्न अपराधीहरूलाई कानूनी दायरामा ल्याई कारबाही नगरेकाले रौतहट जिल्ला प्रहरी कार्यालयमा ०६४ चैत २८ मा जाहेरी दर्ता भएको आज १७ वर्ष बितिसक्दा पनि कारबाही प्रारम्भिक चरणको काम पनि नभएको विज्ञप्तीमा उल्लेख छ ।
‘अपराधीहरूलाई वर्षौं वर्षसम्म पनि अनुसन्धानको दायरामा ल्याई कारबाही नगर्नाले पीडितहरुको आँखा अगाडि नै अपराधीहरू खुलेआम घुमिरहेको देख्नुपर्दा हामीलाई अझ बढी पीडा बोध हुन गएको भन्दै ज्ञापनपत्रमार्फत दोषीलाई अविलम्ब कारबाही गरी न्यायको प्रत्याभूति गराउन माग गर्छौं’, ज्ञापनपत्रमा उल्लेख छ ।
Discussion about this post