Skip to main content

Khabar Samachar

Search
Close this search box.

एसिया कपमा नेपालको फराकिलो हार

210
VIEWS

एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपाल पाकिस्तानसँग २३८ रनको फराकिलो अन्तरले पराजित भएको छ ।

घरेलु टोलीले दिएको ३४३ रनको लक्ष्य पछ्याएको नेपालले २३.४ ओभरमा १० विकेट गुमाएर १०४ रन मात्र बनाउन सक्यो ।

पाकिस्तानको मुल्तानमा टस हारेर बलिङको निम्तो पाएको नेपालले खेलमा राम्रो सुरुवात गरेको थियो । फिल्डिङमा केही चुके पनि नेपालका बलरले सुरुवातमा कसिलो बलिङ गरेका थिए र पाकिस्तानी ब्याटरलाई खुलेर खेल्न दिएका थिएनन् ।

५.३ ओभरमा करण केसीले फखर जमानलाई विकेट किपर आसिफ शेखको हातबाट क्याच आउट गराउँदै नेपालका लागि पहिलो विकेट लिए ।

त्यसको ४ बलअघि जीवन दान पाएका अर्का ओपनर इमाम उल हक ६.१ ओभरमा रन आउट भए । रोहित पौडलको थ्रो सिधै स्टम्पमा लागेको थियो ।

नेपालले तेस्रो विकेट पनि रन आउटकै रुपमा लिएको थियो । २३.४ ओभरमा दीपेन्द्र सिंह ऐरीको थ्रो पनि डाइरेक्ट हिट भएपछि ४४ रन बनाएका मोहमद रिजवान पभेलिएन फर्केका थिए । त्यसपछि आएका अघा सलमान ५ रन जोड्दै सन्दीप लामिछानेको बलमा कुशल भुर्तेलबाट क्याच आउट भए । स्कोरबोर्डमा १२४ रन हुँदा पाकिस्तानको यो चौथो विकेट थियो ।

त्यतिबेला बाबर आजाम ४९ रनको स्थितिमा थिए भने नयाँ ब्याट्सम्यानका रुपमा इफ्तिखार अहमद आए । त्यसपछि यी दुईले पाकिस्तानले इनिङ्स अघि बढाए ।

तर पनि ३३ ओभर सकिँदासम्म पाकिस्तानलाई नेपालले दबाबमा राखेको थियो । त्यतिबेला पाकिस्तानले ४ विकेट गुमाएर १५७ रन बनाएको थियो । बाबर आजम त क्रिजमा जमिसकेका थिए । ७१ रन बनाएका उनलाई इफ्तिखार अहमदले ११ रन बनाएर साथ दिएका थिए ।

३४ औं ओभरमा कुशल भुर्तेल बलिङमा आए । उनको त्यो ओभरमा २ चौकासहित १० रन दिए । त्यो ओभरमा ५–५ रन जोडेका बाबर र इफ्तिखारले त्यसपछि खुलेर खेले । ३५ औं ओभरको पहिलो बलमा सोमपाल कामीलाई इफ्तिखारले छक्का हाने भने । तेस्रो बलमा बाबरले चौका । यो ओभरमा पाकिस्तानले १३ रन दियो ।

३३ ओभरको खेल सकिँदा ४.७५ रहेको पाकिस्तानको रनरेट २ ओभरपछि नै ५.१४ पुग्यो ।

४५ औं ओभरमा सोमपाललाई नै यी दुई ब्याटरले २० रन हाने ।

४६ औं ओभर सन्दीप लामिछानेको अन्तिम ओभर थियो । जसमा उनले १९ रन दिए । तेस्रो र चौथो बलमा बाबरले लगातार २ छक्का हाने । यसअघि पहिलो बलमा नै इफ्तिखारले चौका हानिसकेका थिए ।

४७ औं ओभरमा करण केसीले कसिलो बलिङ गर्दै ७ रन मात्र दिए पनि त्यतिबेला निक्कै ढिलो भइसकेको थियो । तर उनले ४९ औं ओभरमा १८ रन दिएपछि पाकिस्तान ४ विकेटको क्षतिमा ३३१ रनको स्थितिमा पुगेको थियो । इफ्तिखारले शतक पूरा गरे ।

अन्तिम ओभरको चौथो बलमा सोमपालले बाबरलाई १५१ र अन्तिम बलमा शदाब खानलाई ४ रनमा आउट गरेर १ विकेट आफ्नो नाममा लेखाए । पाकिस्तानले ५० ओभरमा ६ विकेट गुमाउँदै ३४२ रन बनायो । इफ्तिखार १०९ रनमा नट आउट रहे ।

मुल्तानमा घरेलु दर्शकको सामुन्ने घरेलु टिम पाकिस्तानलाई हराउन ३४३ रनको लक्ष्य पछ्याएको नेपालको सुरुवात नै राम्रो हुन सकेन ।

ओपनर कुशल भुर्तेल पहिलो ओभरकै ५ औं बलमा सहिन शाह अफ्रिदीको बलमा विकेट किपर मोहमद रिजवानको हातबाट क्याच आउट भने भने छैटौं बलमा कप्तान रोहितकुमार पौडेल गोल्डेन डक भए । पहिलो र दोस्रो बलमा लगातार दुई चौका हानेका कुशलको नाममा ८ रन मात्र जोडियो ।

त्यसपछिको चौथो बलमा नै अर्का ओपनर आसिफ शेख ५ रनमा आउट भए । त्यसपछि आरिफ शेख र सोमपाल कामीले नेपालको इनिङस उकास्ने प्रयास गरेका थिए । उनीहरुले ७८ बलमा ५९ रनको साझेदारी गरे । आरिफ २६ रन बनाएर तथा सोमपाल २८ रन बनाएर आउट भए ।

आरिफ आउट भएपछि आएका गुल्सन झाले १३ रन बनाए भने अरु ब्याट्सम्यानले दोहोर अंकमा नै रन बनाउन सकेनन् ।

दीपेन्द्र सिंह ऐरी ३, कुशल मल्ल ६, रनमा आउट भए भने सन्दीप लामिछाने र ललित राजवंशीले खाता नै खोल्न सकेनन् । ८ रन बनाएका करण केसी नट आउट रहे ।

बलिङतर्फ पाकिस्तानका शदाब खानले ६.४ ओभरमा ४ विकेट लिए । हरिश रउफ र सहिन शाह अफ्रिदीले २–२ तथा नसिम शाह र मोहमद नवाजको नाममा १–१ विकेट रह्यो ।

पाकिस्तानसँग २३८ रनको हार बेहोरको नेपालले आउँदो सोमबार भारतसँग खेल्ने छ । नेपाल र भारतबीचको खेल श्रीलंकामा हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित