माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा केन्द्रीय कमिटी विस्तारका क्रममा भएको सदस्य छनोट र कार्यविभाजनप्रति असन्तुष्टि देखिएको छ । पार्टी नेतृत्वले केन्द्रीय सदस्य छनोट गर्दा मापदण्ड बनाएर गरिएको बताएपनि उक्त मापदण्ड व्यक्ति विशेषमा मात्र लागु गरिएको भन्दै सो पार्टीका युवा, विद्यार्थीहरूले असन्तुष्टि जनाएका हुन् ।केन्द्रीय कमिटीलाई पूर्णता दिएर अन्तर पार्टी निर्देशन जारी भएसँगै असन्तुष्टी बढेको छ । केन्द्रीय कमिटीमा केही नेताले आफ्ना मान्छे टिपेर ल्याएको र मापदण्ड तथा विधि पद्दतिलाई बेवास्ता गरिएको भन्दै असन्तुष्टी बढ्न थालेको हो ।

नेकपा एसका अन्य सबै जनवर्गीय संगठनका अध्यक्षहरु पार्टीको केन्द्रीय सदस्य मनोनित भएका छन् । तर, अनेरास्ववियूका अध्यक्षलाई भने केन्द्रीय सदस्य नबनाई उनीभन्दा जुनियर र नेताका पिएहरूलाई पार्टीको केन्द्रीय कमिटीमा मनोनित गरिएको भन्दै विरोध भएको छ ।

पराजुलीले भने आफू केन्द्रीय कमिटीमा नपरेकोमा कुनै गुनासो नरहेको तर केही नेताले माधव नेपाललाई समेत गुमराहमा राखेर केन्द्रीय सदस्यहरूको छनौट गरेको बताएका छन् । केन्द्रीय कमिटी सदस्यको चयनप्रति पार्टीका पदाधिकारीहरुले समेत असन्तुष्टी व्यक्त गरेका छन् ।

३ सय ३५ सदस्यीय केन्द्रीय कमिटी गठन गर्दा विधि,पद्दति र मापदण्ड नबनाइएकोमा असन्तुष्टी बढेको नेताहरूले बताएका छन् । नेकपा एसले संगठन विस्तारका लागि ३ महिने अभियान घोषणा गरेको छ । यस क्रममा एक वडा एक सय संगठित सदयस्य र एक हजार पार्टी सदस्य बनाउने अभियान सञ्चालन गर्ने भएको छ ।

‘कुन विधि, कसको लागि, मापदण्ड एउटा पात्र छनोट अनेक खल्तीबाट आफू अनुकूल आफ्नो त्यो पनि निजी । सङ्कीर्ण भावना राखेर पार्टी निर्माण गर्ने गलत सोच राख्ने’, नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले असन्तुष्टि जनाउँदै भनेका छन्, ‘अहिलेदेखि नै गलत मानसिकताबाट व्यक्ति छनोटलाई रुचाउने परिपाटीबाट असल/सकारात्मक  अभ्यास गर्ने नयाँ संकल्प चाहिँ भन्ने मात्रको नारा होला होइन कमरेड ?’ त्यस्तै उनले केन्द्रीय कमिटी निर्माण गर्ने जिम्मा पाएका नेताहरूलाई आफ्नै अनुहार हेर्न भनेका छन् । ‘नेपाल कम्युनिस्ट पार्टी  (एकीकृत समाजवादी) केन्द्रीय कमिटी निर्माण गर्ने जिम्मा पाएका कमरेडले विधि/मापदण्डको मुहार र आफ्नो मुहार एकचोटी हेर्न अनुरोध गर्दछु’, पराजुलीले सामाजिक सञ्जाल फेसबुकमार्फत असन्तुष्टि जनाएका छन् । ‘प्रचारमा युवा मैत्री तर पार्टी संरचना/व्यवहारमा शून्यता म, मेरो, निजीलाई प्राथमिकता । कुण्ठाले मात्र पार्टी संरचनाको नेता हुन्छु भन्ने कलिलो सोच नदेख्दा नै राम्रो हुन्छ,’ पराजुलीले भनेका छन् ।

सो पार्टीका महासचिव डा. बेदुराम भुसाललगायतका नेताको टोलीले निर्वाचन आयोगमा सनाखत गरेबाहेक दुई सय केन्द्रीय सदस्य थप गरेको हो ।  पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले केन्द्रीय कमिटी विस्तार र नेताहरूको कार्य विभाजनमा नपरेकाहरूले असन्तुष्टि जनाएको आफूले पनि सुनेको भन्दै आगामी दिनमा त्यसलाई सच्याउँदै जाने बताए । अध्यक्ष माधवकुमार नेपालले केन्द्रीय कमिटी बैठक र स्थायी समिति बैठकले गरेका निर्णयसहित केन्द्रीय कमिटी विस्तार र नेताहरूको कार्य विभाजनसहितको अन्तरपार्टी निर्देशन जारी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय