नेपाली कांग्रेसका नेता शेखर कोइरालाले देशका विभिन्न स्थानमा लागेको डढेलो नियन्त्रण गर्न सरकार संवेदनशील बन्न नसकेको आरोप लगाएका छन् ।
उनले देशका विभिन्न क्षेत्रमा लागेको डढेलोले नोक्सानी बढाएको पनि बताए।
डढेलोका कारण हुने नोक्सानी वर्षेनी बढ्दै गइरहेको उनको भनाइ छ।
‘यस वर्ष देशका विभिन्न भागमा डढेलो लागेका कारण कैयन् नेपालीको ज्यान गइसक्यो,’ सामाजिक सञ्जाल फेसबुकमा शुक्रबार पोस्ट गर्दै उनले उल्लेख गरेका छन्, ‘अर्बौंको सम्पत्ति नाश भइसक्यो। कतै निभ्यो, कतै सल्किरहेको छ।’
उनले डढेलो रोकथाम र न्यूनिकरणमा चुकेको बताएका छन्। ‘डढेलो रोकथाम र न्यूनिकरणमा हामी कहाँ चुक्यौं?, नीतिमा कि व्यवहारमा?,’ उनको प्रश्न छ, ‘सरकार किन यति असंवेदनशील?’
मन्त्रिपरिषदको बिहीबारको बैठकले देशभर डढेलोले पुर्याएको क्षति न्यून गर्न र तत्काल आगलागी नियन्त्रण गर्न क्रियाशील रहन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको थियो।
‘हाल देशभरका विभिन्न स्थानमा आगलागी र डढेलोका कारण भइरहेको क्षति न्यून गर्न र तत्काल आगलागी नियन्त्रण गर्न सम्बन्धित निकायलाई गम्भीरतापूर्वक क्रियाशील हुन निर्देशन दिने निर्णय भएको छ,’ सरकारकी प्रवक्ता रेखा शर्माले भनिन्।
Discussion about this post