Khabar Samachar

रौतहट हत्याकाण्ड पत्ता लगाउने रियो वर्षकै उत्कृष्ट कुकुर

204
VIEWS

गएको असार २९ गते रौतहटको देवाही गोनाही नगरपालिका–६ का ३५ वर्षीय जगरनाथ साहको हत्या घटनामा सफल ‘ट्रयाक’ लिने प्रहरीको रियो नाम गरेको कुकुरलाई वर्षको उत्कृष्ट घोषणा गरिएको छ । कुकुर तिहारका दिन आइतबार प्रहरीले रियोलाई उत्कृष्ट कुकुर घोषणा गरेको हो ।

आफ्नै घरमा सुतेका बेला धारिलो हतियार प्रयोग गरी साहको हत्या गरिएको थियो । घटनाको सूचना पाएलगत्तै प्रहरीको वीरगन्जस्थित केनाइन शाखाबाट अपराध अनुसन्धानमा खटिँदै आएको रियो नामको ‘ट्रयाकर डग’लाई घटनास्थलमा प्रयोग गरिएको थियो ।

साहको शवनजिकै महिलाले प्रयोग गर्ने कपालमा लगाउने क्लिप फेला पर्‍यो । त्यही क्लिपलाई सुँघाएर छोड्दा रियोले साहकै श्रीमती चन्दा साहलाई संकेत गरेको थियो । प्रहरीले चन्दामाथि नै केरकार गर्‍यो । तर, उनले सुरुआतमा राति चार युवकको समूहले श्रीमान्‌को हत्या गरेको प्रहरीसमक्ष बयान दिइन् । पछि उनलाई नियन्त्रणमै लिएर अनुसन्धान गर्दा हत्या आफैँले गरेको स्वीकार गरेकी थिइन् ।

राति सुतेका बेला धारिलो हतियार प्रयोग गरेर चन्दाले श्रीमान् जगरनाथको हत्या गरेकी थिइन् । हाल चन्दा जिल्ला अदालत रौतहटको आदेशले पुर्पक्षका निम्ति थुनामा छिन् । यस्तै, पर्साको जगरनाथपुरकी कान्तिदेवी मुखियाको हत्या घटनामा समेत प्रहरीले रियो नै प्रयोग गरेको थियो । उक्त घटनामा रियोले शंकास्पद दुईजनालाई संकेत गरेको थियो ।

उक्त घटनाबारे प्रहरीले अझै अनुसन्धान गरिरहेको छ । हत्या घटनामा सफल ट्रयाक दिएको भन्दै प्रहरी प्रधान कार्यालयले रियोलाई वर्षको उत्कृष्ट कुकुर घोषणा गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित