Khabar Samachar

पोखरामा एकीकृत समाजवादीलाई वडा सदस्य पनि नदिने कांग्रेसको अडान

217
VIEWS

पोखरा महानगरको मेयर दाबी गरिरहेको नेकपा एकीकृत समाजवादी पार्टीलाई वडा सदस्य पनि दिन नसकिने कांग्रेसले बताएको छ।

पोखरामा सोमबार बिहान बसेको गठबन्धन बैठकमा कांग्रेसले उक्त अडान राखेको हो। कांग्रेस कास्कीका सचिव भानु ढकालले अब एकीकृत समाजवादीलाई चुनावमा समेट्न नसक्ने जानकारी गराएको बताए।

‘पोखराको मेयर, उपमेयर मात्र होइन, हाम्रो पार्टीको इकाइ समितिहरुले समाजवादीलाई वडा सदस्य पनि दिन नसक्ने निर्णय पठाएका छन्,’ ढकालले भने, ‘गठबन्धनको आजको बैठकमा यसबारे प्रष्ट जानकारी गराएका छौं।’

कांग्रेसले उक्त जानकारी गराएपछि बैठक उठेको छ। कास्कीमा पोखरा महानगर र चारवटा गाउँपालिका छन्। जिल्लाभर ७२ वटा वडा छन्। एक जना वडा सदस्य पनि दिन नसक्ने भन्दै कांग्रेसले मित्रवत प्रतिश्पर्धा गर्न आग्रह गरेको सचिव ढकालले बताए।

समाजवादीले पोखरा महानगरको मेयर आफूले पाउनुपर्ने भन्दै केन्द्रमा दवाब बढाइरहेको छ। समाजवादीका अध्यक्ष माधव नेपालले केही दिन अघि पोखरामा ८ हजार पार्टी सदस्य रहेको र जनवर्गीय संगठनमा आवद्धसमेत जोड्दा १२ हजार पुग्ने भन्दै आफुहरुलाई कमजोर नआँक्न चेतावनी दिएका थिए।

पोखरा समाजवादीलाई दिने छलफल चलिरहेका बेला कांग्रेस कास्कीका नेताहरु पनि काठमाडौं डेलिगेसन गएर सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई पोखराको मेयर अन्य दललाई दिन नसक्ने बताएको थियो।

कांग्रेसले पोखरा र चारवटै गाउँपालिका प्रमुख र वडा अध्यक्षसहित सदस्यको उम्मेदवार छनौट प्रक्रिया अघि बढाएको छ। पोखरा महानगरको मेयरमा मात्र कांग्रेसका १८ जना र उपमेयरमा १० जना आकांक्षीले आन्तरिक उम्मेदवारी दिएका छन्।

एकीकृत समाजवादी पार्टीले पनि पोखराको मेयरमा ६ जना र जिल्लाका ७२ वटै वडामा वडा अध्यक्षका उम्मेदवार सिफारिस गरेको छ। महानगरको मेयर, उपमेयरका बारेमा प्रदेश कमिटीले मंगलबार नाम सिफारिस गर्ने एकिकृत समाजवादी कास्कीका अध्यक्ष आचार्यले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित