सर्वोच्च अदालत बार एसोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पदबाट ‘तत्काल राजीनामा’ दिनुपर्ने निर्णय गरेको छ। बार एसोसिएसनको आज बसेको बैठकले प्रधानन्यायाधीश राणाको नेतृत्वमा न्यायालय सञ्चालन हुनसक्ने अवस्था नदेखिएकोले तत्काल राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेको छ ।

सर्वोच्च अदालतका सचिव ऋषिराम घिमिरेले सोमबार जारी गरेको विज्ञप्तिमा न्यायालयमा सिर्जिन विकृति, विसंगतिका सम्बन्धमा अध्ययन गरी तयार भएको प्रतिवेदनसमेत कार्यान्वयन गर्नबाट हच्किई सुधारका कार्यमा समेत बाधा अड्चन गरेबाट नेतृत्व असफल भएको उल्लेख गरिएको छ ।

‘यो गम्भीर परिस्थितिमा यस बार एशोसिएसनका पूर्व अध्यक्ष तथा पूर्वसचिवसमेत रहेको सल्लाहकार समितिद्वारा २०७८ साल कात्तिक ८ मा प्राप्त सल्लाह र सुझावसमेतका आधारमा आजै बसेको कार्यसमितिको बैठकले न्यायिक नेतृत्व सम्पूर्ण रुपमा असफल भएको ठहर गरेको हुँदा न्यायपालिकालाई थप संकटबाट जोगाउन समुचित निकासका लागि मार्गप्रशस्त गर्न सम्मानननीय प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासमक्ष सर्वोच्च अदालत बार एशोसिएसन जोडदार माग गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।

सोमबार ‘इजलास बहिस्कार गरेर’ छुट्टै छलफलमा जुटेका १३ जना न्यायाधीशहरुबीच मंगलबार प्रधानन्यायाधीश राणालाई भेटेरै ‘राजीनामा माग्ने’ समझदारी जुटेको छ।

सोमबार १३ जना न्यायाधीशहरु अलग्गै छलफलमा जुटेपछि प्रधानन्यायाधीश राणाले बोलाएको नेपाल बार एसोसिएशनसहितको सर्वोच्च अदालतको पूर्ण बैठक (फुल कोर्ट) बस्न सकेन।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय