सत्तारुढ गठबन्धनबीच पोखरा महानगरपालिकाको मेयर पद एकीकृत समाजवादीलाई दिने सहमतिपछि नेपाली कांग्रेस कास्की कार्यालयमा तालाबन्दी गरिएको छ । कांग्रेसको पोखरा महानगर समितिले जिल्ला कार्यालयमा तालाबन्दी गरेको हो ।
महानगरका सचिव टुवराज बास्तोला र गणेशबहादुर थापाले संयुक्त विज्ञप्ति जारी गरी जिल्ला कार्यसमितिसँग मात्रै सोधेर पोखराको मेयर एकीकृत समाजवादीलाई सुम्पेको भन्दै आफ्नो आत्मसम्मानमा चोट पुगेको बताएका छन् ।
‘प्रदेश र जिल्ला सभापतिलाई किनाराको साक्षी राख्दै नेकपा एसलाई मेयर पदमा प्रस्ताव गरिएको समाचारले महानगर समिति उपेक्षित भएको महसुस भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हामी पनि विधानअनुसार निर्वाचित भएका हौं । यस्ता निर्णयले कांग्रेसका पहरेदार सिपाहीहरूको आत्मसम्मानमा गम्भीर चोट लागेको छ ।’
सत्ता गठबन्धनको मंगलबार बसेको शीर्ष बैठकले पोखरा महानगरको मेयर एकीकृत समाजवादीलाई दिने निर्णय गरेको थियो। गत सोमबार कास्की कांग्रेसले विज्ञप्ति निकालेर जिल्ला स्तरको गठबन्धनबाट बाहिरिन र स्वच्छ प्रतिस्पर्धामा उत्रिन समाजवादीलाई आग्रह गरेको थियो। विज्ञप्तिमा समाजवादी पार्टीलाई मेयर मात्र होइन, कुनै पनि वडामा वडा सदस्य समेत दिन नसकिने कांग्रेसले जनाएको थियो।
जिल्ला कार्यालयमा तालाबन्दीपश्चात बुधबार दिउँसो पोखराका वडा सभापतिहरूको भेला डाकिएको सचिव थापाले बताए।
‘महानगर कार्यसमिति र वडा सभापतिको भेलाले थप कार्यक्रम तय हुन्छ,’ उनले भने, ‘गठबन्धनबाट पोखराको मेयर नपाए कांग्रेस एक्लै चुनावमा जान्छ।’
सत्ताभन्दा माथि उठेर आमकार्यकर्ताको मनोभावना उच्च राख्न महानगरले जिल्लाको पार्टी कार्यालयमा तालाबन्दी गरेको थापाले बताए ।
‘आगामी दिनमा अपनाइने संघर्षका कार्यक्रममा आमसहमति रहने अपेक्षा गर्दै यो ध्यानाकर्षण पत्र जिल्ला कार्यसमिति एवं गण्डकी प्रदेश कार्य समिति लाई पेस गर्दर्छौं,’ विज्ञप्तिमा भनिएको छ ।
Discussion about this post