वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएकी छिन् । मंगलबार उनले प्रदेशसभामा सम्बोधन गर्दै मुख्यमन्त्रीबाट मार्गप्रशस्त गरेको बताइन् ।

१०९ सदस्यीय प्रदेशसभामा नेकपा एमालेको ५६ सांसद हुँदा भदौ २ गते एकल बहुमतको मुख्यमन्त्रीमा नियुक्त भएकी शाक्य पार्टी विभाजित भई नेकपा एकीकृत समाजवादी गठन भएपछि अल्पमतमा परेकी थिइन् । हाल प्रदेशसभामा एमालेको ४३ जना मात्रै सांसद छन् ।

गत २ भदौमा मुख्यमन्त्री भएकी शाक्यले प्रदेशसभाबाट विश्वासको मत नपाउने भएपछि राजीनामाको विकल्प रोजकी हुन् । विपक्षीले विरुद्धमा गठबन्धन बनाएपछि ७१ दिनमै उनी बाहिरिनु परेको हो ।

शाक्यले छोटो समय भए पनि आफ्नो कार्यकाल उपलब्धीपूर्ण भएको र सबैले सहयोग गरेको बताइन् । जाँदा-जाँदै आफूले प्रदेश नीति आयोगमार्फत समाजवादको यात्रा प्रारम्भ गर्नेबारे केही खाका तयार पारेको बताइन् ।

मुख्यमन्त्री शाक्यले राजीनामा बुझाएपछि बागमती प्रदेशमा अर्को सरकार गठनको बाटो खुलेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको गठबन्धनले बागमती प्रदेशमा अर्को सरकार गठनको तयारी गरेका छन् । उनीहरुले एकीकृत समाजवादीको संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने निर्णय समेत गरेका छन् ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले प्रदेश प्रमुखले अर्को सरकार गठन गर्न दिएको समयभित्रै गठबन्धनबाट मुख्यमन्त्रीमा दाबी पेश गर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय