Khabar Samachar

Search
Close this search box.

कैलालीका राहुल नेपालीको सम्पूर्ण शुल्क सुदूरपश्चिम सामाजिक विकास मन्त्रालयले तिर्ने

210
VIEWS

एमबीबीएस अध्ययनका लागि कैलालीका राहुल नेपालीको सम्पूर्ण शुल्क सुदूरपश्चिम सामाजिक विकास मन्त्रालयले तिर्ने भएको छ । चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षामा उत्तीर्ण भए पनि आर्थिक अभावले उनको भर्ना छुटेको थियो । प्रदेश सरकारको समेत आर्थिक छात्रवृत्ति पाएका उनी पनि भर्ना हुनबाट वञ्चित थिए ।

सोमबार चिकित्सा शिक्षा आयोगलाई पत्र लेख्दै मन्त्रालयले भर्ना शुल्क तिरिदिने उल्लेख गरेको हो । उनको भर्ना छुटेको बारे कान्तिपुरले सोमबार समाचार प्रकाशन गरेको थियो ।

कैलालीको गौरीगंगा नगरपालिका–६ का राहुल विपन्न परिवारका हुन् । परिवारको आर्थिक अवस्था कमजोर भएकाले आफैंले जोहो गरेर भर्ना गर्न सक्ने अवस्था थिएन ।

राहुल युनिभर्सल कलेज अफ मेडिकल साइन्स एन्ड टिचिङ हस्पिटल भैरहवामा भर्ना पाउने सूचीमा छनोट भएका थिए । सो टिचिङ हस्पिटलले भर्नाको म्याद पुस २६ गतेदेखि माघ ४ गतेसम्म तोकेको थियो ।

हस्पिटलले एमबीबीएसको अध्ययनका लागि ४६ लाख लाग्ने कुल शुल्कमा १५ लाख भर्ना हुने बेला नै बुझाउनुपर्ने भनेको थियो ।

यसअघि राहुलले आफ्नो भर्ना छुट्न लागेको जानकारी गराउँदै सामाजिक विकास मन्त्रालयका कर्मचारी, मन्त्री सबैसँग गुहारेका थिए तर कसैले सुनेनन् । मन्त्रालयले टार्नका लागि माघ ३ गते ‘जो जससँग सम्बन्धित छ’ व्यहोराको पत्र थमाएको थियो । त्यस व्यहोराको पत्रलाई हस्पिटलले आधार मानेन । प्रमुख सचिव हरि लम्सालसमेतको सक्रियतामा सोमबार मन्त्रालयले चिकित्सा शिक्षा आयोगलाई भर्नाका लागि सहजीकरण गरिदिन आग्रह गर्दै शुल्क तिर्ने पत्र लेखेको हो ।

अब राहुलले भर्ना पाउने–नपाउने यकिन फागुन पहिलो साता हुनेछ । भर्ना भएका विद्यार्थीहरूको पढाइ सुरु भएपछि कलेजहरूले सिट खाली हुने अवस्थामा भर्नाको (र्‍यापअप म्याचिङ लिस्ट) सूची निकाल्छन् । त्यस अवस्थामा सिट खाली हुन आए आफूले भर्ना पाउने सम्भावना रहने राहुलको भनाइ छ । राहुलको भर्ना सुनिश्चित गर्न प्रदेश सरकारले जिम्मेवारी लिएर थप पहल गर्नुपर्ने त्यस कार्यमा पहल गरेका नृप सुनारले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित