काठमाडौंको थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग अस्पतालबाट बच्चा चोरी भएको छ।
शुक्रबार एक जना महिलाले बच्चा चोरी गरी फरार भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।
अहिले प्रहरीले अनुसन्धान गरिरहेको उनले बताए।
प्रहरीका अनुसार काभ्रे घर भई काठमाडौं बस्दै आएकी एक जना महिलाको २६ दिने छोरी चोरी भएको हो।
चोरीमा संलग्न आरोपीको खोजीमा जिल्ला प्रहरी परिसर काठमाडौँका डीएसपीको नेतृत्वमा टिम परिचालन गरिएको छ । काभ्रेको चौर देउराली गाउँपालिका–३ घर भएर कपन बस्ने २२ वर्षीया सविना श्रेष्ठको बच्चा अपरिचित महिलाले चोरेर भागेकी हुन् । ‘सहयोग’ को बहाना बनाएर अपरिचित महिलाले बच्चा चोरेर भागेको सविनाले प्रहरीलाई बताएकी छन् ।
अस्पतालमा अपरिचित महिलाले ‘एकछिन म लिइदिन्छु’ भनेर बालिका लिएर फरार भएपछि पीडितले अस्थायी प्रहरी बिट थापाथलीमा खबर गरिन् । सीसीटिभीमा देखिएको हुलिया अनुसार रातो कुर्ता, सुरुवाल र कालो मास्क लगाएकी महिलाले बच्चा बोकेर हिँडेको देखिन्छ । आरोपीले पहेँलो ब्याग बोकेकी छन् । चोरीमा संलग्न आरोपीबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए ।
Discussion about this post