कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सहकारीका सञ्चालकको गल्तीले मात्रै सहकारीमा समस्या नआएको बताएका छन् ।
बिहीवारबाट काठमाडौंमा सुरु भएको राष्ट्रिय सहकारी महासंघको आयोजना गरेको प्रथम सहकारी डिजिटल कन्क्लेभमा बोल्दै मन्त्री गिरीले यस्तो दाबी गरेका हुन्
उनले सहकारीका सञ्चालकको मात्रै गल्तीले सहकारीमा समस्या नआएको भन्दै राज्यले समयमा नियमन नगर्दा अहिलेको परिस्थिति आएको बताए ।
सहकारीमा समस्या आएपनि समाधानको लागि राज्यले लिएको कार्यशैली गलत भएको उनको भनाई छ ।
कानूनमन्त्री गिरीले सहकारीबाट ऋण लिएर ठूूलाठूला हाउजिङ र गाडीमा लगानी गर्दा राज्य र नियामक निकाय रमिते बन्दा यस्तो अवस्था आएको उल्लेख गरे ।
सहकारीको नियमन गर्न बसेका निकायहरुले राज्यबाट सुविधा लिने तर ठूलो समस्या आउँदा ध्यान नदिनेकुरा राम्रो पक्ष नभएको गिरीको भनाई छ ।
उनले आम जनताको बचतबाट ऋण लिएकाले समयमै ऋणको साँवा, ब्याज चुक्ता गर्न जरुरी रहेको बताए । साथै, ऋण नतिर्ने छुट कसैलाई नभएको भन्दै कतिपय ऋणीका कारण सहकारीहरु समस्यामा परेको उनले बताए ।
उनले विधि,पद्धति,सहकारीका मूल्यमान्यता र सिद्धान्त भन्दा बाहिर गएर ऋण प्रवाह गर्नेलाई कानून बमोजिम कारबाही हुनुपर्ने बताए ।
जुनसुकै हिसाबमा सहकारीबाट लिएको ऋण ऋणीले तिर्नुपर्नेमा उनले जोड दिए ।
सहकारीका सञ्चाललाई थुनेर मात्रै बचत फिर्ता नहुने भन्दै समयमै प्रभावकारी नियमन नहुँदा समस्या आएकाले समाधानको निम्ती पनि समय दिनुपर्ने उनको भनाई ।
गिरीले सञ्चालकलाई जेल पठाएर सहकारीका बचतकर्ताको बचत फिर्ता हुन नसक्ने धारणा राखे । सहकारीमा पारदर्शिता र विश्वसनीयता कायम गर्न प्रविधिको प्रयोग अनिवार्य रहेको उनले बताए ।
Discussion about this post