अवैध रुपमा नेपाल प्रवेश गरेका ११ अफगानी नागरिकमध्ये मेक्सिको पठाइएका पाँच जना काठमाडौं फिर्ता आएका छन् ।आइतबार साँझ मेक्सिको पठाइएका उनीहरु मंगलबार श्रीलंकन एयरलाइन्सको उडान नं. यूएल १८१ मार्फत नेपाल फर्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय स्रोतले बतायो ।

स्रोतका अनुसार उनीहरुलाई मेक्सिकोको अध्यागमनले त्यहाँको विमानस्थल प्रवेशमा रोक लगाएको थियो । ‘इन्ट्री रिफ्यूज गरिएको लगायतको पत्रसहित अध्यागमन विभाग, कालिकास्थान पठाएका छौं’ विमानस्थल स्रोतले भन्यो ।

विभागमा बुझाएका अफगानी नागरिकमा ४१ वर्षीय मोहमद जामराई स्तानाजाई, ३८ वर्षीया नाजिफा स्तानाजाई, १७ वर्षीया मिसब जैनब स्तानाजाई, १२ वर्षीया नोरुल हाया स्तानाजाई र ८ वर्षीय मोहम्मद रायन स्तानाजाई छन् । उनीहरुलाई के गर्ने भन्नेबारे टुंगो लागि नसकेको विभागका एक अधिकारीले बताए ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले चाहिँ उनीहरु फिर्ता आएको बारे जानकारी पाए पनि विस्तृत विवरण आफूसँग नभएको बताए ।

विमानस्थलमा अध्यागमनको ‘डिटेन्सन रुम’ मा राखिएका बेला उनीहरुले नेपालमा शरणार्थीको रुपमा बस्न दिन अनुरोध गरेका छन् । त्यसका लागि उनीहरुले लिखित निवेदनसमेत बुझाउने तयारी गरेको स्रोतले बतायो ।

पाँचै जनासँग रहेको राहदानीका आधारमा अध्यागमन विभागले उनीहरुलाई यसअघि ‘अनअराइभल भिसा’ दिएर निष्काशन गरेको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनीहरुसहित ११ जनालाई ८ कात्तिकमा सिनामंगलस्थित एक होटलबाट पक्राउ गरेको थियो ।

तालिवानले सत्ता कब्जा गरेपछि उनीहरु उडानमार्फत ९ जुलाई २०२१ मा भारत आएका थिए । भारतको दिल्लीबाट सुनौली नाका हुँदै उनीहरु ४ कात्तिकमा काठमाडौं आइपुगेको खुलेको थियो ।

पक्राउ परेकामध्ये अन्य ६ जनाको हकमा विभागले अझै निर्णय गरिसकेको छैन ।

पक्राउ पर्नुअघि उनीहरुले शरणार्थी मामिलासम्बन्धी उच्च आयोग (यूएनएचसीआर) मार्फत शरणार्थी कागजात बनाउने प्रयास गरिरहेका थिए । त्यहीबीच प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।

उनीहरु पक्राउ परेपछि बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले अफगानी शरणार्थी नेपाल प्रवेश गर्न सक्ने भन्दै सीमा नाकामा चेकजाँचमा कडाइ गर्ने निर्णय गरेको थियो ।

गृह मन्त्रालयले स्थलमार्गबाट नेपाल प्रवेश गर्ने भारतीय नागरिकलाई पनि परिचय पत्र अनिवार्य गर्ने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय