लक्ष्मी पूजा नेपालका प्रमुख पर्वहरूमध्ये एक हो । तिथि अनुसार कार्तिक कृष्ण अमावस्याका दिन यो पर्व मनाइन्छ । नेपालमा यो पर्व लक्ष्मी देवीको पूजा गरी घरभरि दियो बाली मनाइन्छ । नेपालमा यसलाई यमपञ्चकको एक भागको रूपमा मनाइन्छ। वर्षका चार महत्त्वपूर्ण रातहरू मध्ये लक्ष्मी पूजाको रातलाई सुखरात्रि भनिन्छ। यस दिन स्त्री जाति विशेष गरी कुमारी केटीहरूले घरघरै गई भैलो खेल्ने चलन छ। लक्ष्मी धनकी देवीलाई भनिन्छ ।

लक्ष्मी शब्द का सर्वप्रथम उल्लेख “ऋग्वेद” को पुरूषसूक्तमा भेटिन्छ । “श्रीश्च ते लक्ष्मीश्च ऊषाण ।” हे परमेश्वर, अनन्त शोभास्वरूप श्री र अनन्त शुभ लक्षण युक्त लक्ष्मी दुवै हजुरको पत्नी हुन् । तंत्रागम का अनुसार सर्वोत्तम अवस्थामा विष्णु और उनको शक्ति लक्ष्मी एकै परमात्मा हुन् । विष्णु र लक्ष्मी एक-आपसमा अभिन्न छन् । केवल सृष्टिको समयमा भिन्न देखिन्छन् । स्त्रीको चौसठ्ठि कला मानिएको छ । चौसठ्ठि कला युक्त महिला लाई लक्ष्मी पनि भनिन्छ ।

सौभाग्य, समृद्धि , सफलता, सम्पन्नता र सुन्दरताको अर्थमा पनि लक्ष्मी शब्द प्रयुक्त हुने गर्दछ । भगवती दुर्गाको हजार नाममा एक नाम लक्ष्मी पनि हो । सफासुग्घर र लिपपोत गरिएको घरमा लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता छ । यसै आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, संघार, कौसी, अटाली र भ¥याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । यस पर्वलाई दीपमालिका पनि भनिन्छ ।

लक्ष्मी पूजा गरिने कार्तिक कृष्ण औंसीको रातलाई सुखरात्रि पनि भनिन्छ । वर्षभर मनाइने चार प्रमुख रात्रिमध्ये यो पनि एक हो । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ ।

पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलीमिली बनाइन्छ । हाल पालामा दियोको स्थानमा मैनबत्ती बाल्ने प्रचलन पनि बढ्न थालेको छ । दियोमा तेल राखेर बत्ती बाल्नु नै वैदिक परम्परा भएको धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतम बताउँछन् ।

दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा आराधना गरिन्छ ।

लक्ष्मीपूजा पछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन छ । आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ ।

लक्ष्मी पूजा सन्ध्याकालमा गरी मध्यरातमा घरका नारीले नाङ्लो ठटाएर ‘अलक्ष्मी भागोस् लक्ष्मी र धनधान्यको आगमन होस्’ भनी कामना गर्ने शास्त्रीय विधि रहेको धर्मशास्त्रविद् गौतमले बताए ।

आज साँझ युवती समूह बनाई घरघरमा भैलो खेल्छन् । भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तिनै लोकको शासन गर्ने वरदान बलिराजालाई दिएको र वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो । ‘भलो होस्’ भन्ने शब्द समयक्रममा अपभ्रंश भई ‘भैलो’ हुन आएको उनको मत छ ।

भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ । भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

कुल परम्पराअनुसार कतै आजै बिहान गाईको पूजा गर्ने प्रचलनसमेत छ । शास्त्रीयरुपमा भने औंसीपछि कार्तिक शुक्ल प्रतिपदा लागेपछि बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय