उदाउँदै गरेको सूर्यलाई बिहीबार बिहान अर्घ दिएपछि चारदिने महाअनुष्ठानको पर्व छठ सकिएको छ । छठ समापन र उदाउँदो सूर्यदेवको पूजाका लागि राजधानी काठमाडौंसहित तराईका विभिन्न जिल्लामा नदी, तलाउ र पोखरीका किनारमा भक्तजनहरू रातभर जाग्राम बसेका थिए ।

हिजो अस्ताउँदै गरेको सूर्य तथा छठी मातालाई अर्घ्य दिएका भक्तजनले आज उदाउँदो सूर्यको पूजा आराधना गरेका हुन्। काठमाडौंको गुह्येश्वरी, गहनापोखरी, कमलपोखरीलगायत पोखरी तथा वाग्मती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा भक्तजनले पूजाआजा गरेका थिए ।यससँगै सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने मधेसवासीको महान चाड छठको उल्लास सकिएको छ ।प्रकृतिको पूजा गर्ने पर्वको रुपमा परिचित छठका लागि झिलिमिलि पारिएका नदी, खोला र पोखरीस्थित छठघाटमा व्रतालुहरु बिहान उज्यालो नहुँदै पुग्छन् ।

घरका पुरुष सदस्यले दौरा (पूजा सामग्री तथा प्रसादले भरिएको टोकरी) बोकेर छठघाटसम्म लगिदिन्छन् ।

दोस्रो दिन बेलुका एकछाक अलिनो रसिआव रोटी खाएपछि व्रतालुहरु निराहार व्रत बसेका हुन्छन् । पुरुष सदस्यले दौरा बोकेर व्रतालु महिलाप्रति सम्मान र माया प्रकट गर्ने गरेको भोजपुरी प्रतिष्ठानका अध्यक्ष एवं सँस्कृतिविद प्राज्ञ उमाशंकर द्विवेदी बताउँछन् ।

सँस्कृतिविद द्विवेदीका अनुसार अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएका व्रतालुले घर गएर भाकल अनुसार कोशी भर्ने गर्छन ।

व्रत परिवारका एक दुई जना सदस्य मात्रै बस्ने गरेपनि कोशी भर्ने कार्यमा परिवारका सबै सदस्य सहभागी हुन्छन् । ‘सबैजना घाटमा जान सकेका हुँदैनन, तर कोशी भरिसकेपछि परिवारका सबै सदस्य ढोग्ने प्रचलन छ,’ द्विवेदीले भने ।

बिहान छटघाट पुगेपछि शिरशोप्तामा पुजा गर्छन । उदाउँदो सूर्यलाई अर्घ दिएर पूजापाठ गरेपछि छठ पर्व विधिवत रुपमा समापन हुन्छ । छठको चौथो तथा अन्तिम दिनलाई भोजपुरी भाषामा ‘बिहनइया’ अथवा ‘भोरे घाट’ भनिन्छ ।

छठघाटबाट घर फर्किएपछि इनार, गाईलगायत चलनचल्ती अनुसार आसपासका मन्दिरहरुमा पूजा अर्चना गरिन्छ । व्रतालुले आफूभन्दा आदरणीय व्यक्तिसँग ढोगेर आशीर्वाद लिन्छन् र सानालाई आशीर्वाद दिन्छन् । त्यसपछि अदुवा, गुलियो, र तातोपानी खाएर व्रत तोडेर मात्रै भोजन गर्ने चलन छ ।

विशेष नियम र निष्ठासाथ मनाइने छठ पर्वका लागि नदी, पोखरी तथा जलाशयहरु सिँगारेर झकिझकाउ पारिन्छ । छठपूजामा सूर्य भगवान र छठी मातालाई पूजापाठ र अर्घ दिनका लागि गहुँ वा चामलको पिठोबाट ठेकुवा बनाउने गरिन्छ । यस्तै पात सहितको मुला, अदुवा र बेसारको हरियो बेर्ना, ज्यामिर, नरिवल, सुन्तला, केरा, स्याउ, पानीसिंगडा, सुथनी, उखुलगायतका फुलफूल पनि सूर्य भगवान र छठी चढाइने गरिन्छ । छठ पर्वमा व्रत गरे दुःख र दरिऽताबाट मुक्ति पाइनुको साथै सन्तान सुख प्राप्ति हुन्छ भन्ने धार्मिक जनविश्वास रही आएको छ ।

वीरगञ्जको घडिअर्वा पोखरी, स्वीमीङ पुल, नगवा पोखरी, मुर्ली, छपकैया , रामगढवा, तेजारथ टोल, चिनी मिल आवासक्षेत्र, पिपरा, परवानीपुर, सुखचैना लगायत ग्रामीणक्षेत्रका पोखरी तलाउहरुमा छठका विशेष रौनक देखिने गरेको छ । चैतमा पनि छठ पर्व मनाइन्छ । कतिपयले भाकल पूरा भएपछि छठको व्रत बस्ने गरेका छन् भने कतिपयले मनोकांक्षा पूरा होस भनेर छठी माता र सूर्यको आराधना गर्ने गर्दछन् ।यस्तै जनकपुरका ऐतिहासिक गंगा सागर, धनुष सागर, अरगजा पोखरी, दशरथ तलाउसहित दुई दर्जनभन्दा बढी पोखरीमा ब्रतालुहरुको घुइँचो लागेको थियो ।सप्तरीको कोशी व्यारेज, भारदह, छिन्नमस्ता, कञ्चनपुर सदरमुकाम राजविराजसहितका स्थानमा पनि उत्तिकै उल्लासले पर्व मनाइएको छ ।

दुलही झैं सिंगारिएका तलाऊहरुमा हजारौं भक्तजन भेला भएर पूजा आराधना गरेका छन्। पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपासना गरी यो पर्व मनाइन्छ।आधुनिक युगमा पनि वैकल्पिक ऊर्जाको स्रोतको रूपमा सूर्यको महत्व छ । सूर्यको हरेक दिन र याममा मानवलाई खाँचो पर्छ । प्राचीन एवं आधुनिक चिकित्सा प्रणालीले कठिन रोगको उपचार र हानीकारक किटाणु नष्ट गर्न सूर्य किरण महत्वपूर्ण रहेको तर्क गर्छन् । योगा र ध्यान पद्धतिमा पनि सूर्यको उपासनालाई विशेष स्थान दिने गरिएको छ । उदाउँदै गरेको सुर्यको किरण शरीरमा परे त्यसबाट भिटामिन डि प्राप्त हुने चिकित्सकहरुको भनाइ छ ।

विभिन्न धर्म, जाति र समुदायको नाममा विभाजित हुने क्रम बढीरहेको समयमा एकै थलोमा उभेर गरिने सूर्यको उपासनाले एकताको सुत्रमा बाँधेको सन्देश दिन्छ । पश्चिम एसिया, प्राचीन युनान, इजिप्ट र बेबिलोन सभ्यता -हाल इराकको एक भाग) मा समेत सुर्यको पुजा हुने गरेको थियो । छिमेकी भारत र विश्वका थुप्रै स्थलमा सूर्य -अपोलो) मन्दिरहरू छन् । भारतकै उत्तरप्रदेश, विहार र झारखण्डमा पनि छठ पर्वलाई विशेष महत्व दिएर मनाउने गरिन्छ ।

कसरी शुरु भयो छठ ?

प्रकृतिको छैठौं वंशले उत्पन्न भएकी ब्रम्हाकी मानसी पुत्रीलाई षष्ठीदेवि भनेर चिनिने संकृतिविदहरु बताउँछन् । स्वामी कार्तिकेयको श्रीमति नै छठी माता भएको जनविश्वास छ ।

बालदा षष्ठी अर्थात बालक दिने र बालककको पुरा हेरचाह गर्ने देवीलाई छठीमाता भनेर चिनिन्छ । छठमा सुर्यको उपासना सँगै उनै देविको पूजा गरिन्छ । उनको मुर्ति हुँदैन त्यसैले छठघाटमा शिरशोप्ता बनाएर त्यसैको वरिपरि अर्घ दिने सामग्री राखेर पूजा गर्ने परम्परा छ ।

छठ शुरु भएको बारे विभिन्न किम्वदन्तीहरू भेटिन्छन् । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आरधना गरेका थिए । त्यसबखत उनीहरू पाण्डव विराट राजाको दरबारमा कामदारका रुपमा थिए । त्यहीबेलादेखि छठ मनाउने परम्पराको थालनी भएको बताइन्छ ।

अर्कोतर्फ सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठको व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि अटल सौभाग्य, परिवारको सुख शान्ति र पति प्रेमका लागि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको विश्वास गरिन्छ ।

त्यसैगरी साम्ब पुराणमा पिता श्रीकृष्ण तथा महषर्ी दुर्वासाको सरापका कारण कुष्ठरोगबाट पीडित बनेका साम्व सूर्यको आराधनाको फलस्वरूप रोगमुक्त हुन गएको चर्चा छ । यसमा झुप्पा-झुप्पा फलफुल चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका परिवार र नाताकुटुम्बको समेत भलो हुन्छ भन्ने धार्मिक विश्वास छ । कात्तिक शुक्लपक्षमा विधिपूर्वक सूर्यको पूजाआराधना गरी अर्घ दिएमा चर्म रोग लाग्दैन भन्ने मान्यता पनि छ । यसकारणले गर्दा पनि छठको लोकपि्रयता बढ्दै गईरहेको छ ।

छठ पर्वमा व्रत गरे दुःख र दरिऽताबाट मुक्ति, सन्तान सुख पाइन्छ भन्ने जनविश्वास छ । छठमा आफू व्रत बस्न नसक्नेले अर्कोबाट अर्घ चढाउने पनि चलन छ । कतिपयले भिक्षा मागेरै पर्व मनाउने गर्छन् । ०४६ अघि तराईका सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रिय स्वरुप ग्रहण गरेको छ ।

बुधबार अस्ताउँदै गरेको सूयलाई अर्घ दिएका व्रतालुहरूले बिहान उदाउँदै गरेका सूर्यलाई अर्घ दिएका हुन् । योसँगै सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईवासीको महान चाडको उल्लास अब सकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय