राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय टिमको क्याम्पबाट ९ जना खेलाडी बाहिरिएका छन्।
सिनियर खेलाडी रोहित चन्दसहित ९ खेलाडीले प्रशिक्षण क्याम्प छाडेका हुन्। सुरूमा रोहितले प्रशिक्षकको कार्यशैलीप्रति असन्तुष्टि जनाएका थिए। उनले खेलाडीको सुविधाको विषयमा कुरा गर्दा प्रशिक्षक रिसाएको बुझिएको छ। रोहितले खेलाडीको खाने-बस्ने सुविधाको विषयमा प्रशिक्षणका कुरा गर्दा प्रशिक्षक अलमुताइरी रिसाएका थिए।
स्रोतका अनुसार रोहितको असन्तुष्टिपछि प्रशिक्षक अलमुताइरीले प्रशिक्षण क्याम्प छाड्न सक्ने भनेका थिए। यद्यपी राष्ट्रिय टिमका व्यवस्थापक मधुसुदन उपाध्यायले भने रोहितले चोटका कारण केही दिनदेखि अभ्यासमा नआएको बताएका छन्।
एएफसी एसियन कप २०२३ को छनोटका लागि अहिले नेपाली टिमलाई बन्द प्रशिक्षणमा राखिएको छ। अघिल्लो सातादेखि बोलाइएको प्रशिक्षणमा २५ खेलाडीलाई बोलाइएको थियो।
तर मंगलबारको प्रशिक्षण सकाएर होटल पुगेका १० खेलाडी राति ९ बजे हिँडेका छन् । टिम मिटिङमा सबै खेलाडी सहभागी थिए । तर राति होटल छाडेर हिँडेका जानकारी पाएको राष्ट्रिय टिमका व्यवस्थापक मधुसुदन उपाध्यायले पुष्टि गरेका छन् ।
टिमसँगै होटलमा रहेका व्यवस्थापन कृष्णभक्त मानन्धर खेलाडी हिँडेको जानकारी गराएका थिए । होटल छाड्नेमा रोहित चन्दसँगै अन्जन विष्ट, विमल घर्ती मगर, अनन्त तामाङ, विशाल राई, विशाल श्रेष्ठ, सुजल श्रेष्ठ, तेज तामाङ, दिनेश राजवंशी र सुमल लामा छन् ।
एन्फा स्रोतका अनुसार मंगलबार साँझको टिम मिटिङपछि विशाल राई, अनन्त तामाङ, विमल घर्तिमगर, अन्जन विष्टसहित खेलाडीले होटल छाडेका थिए। जसका कारण बुधबारको अभ्यासमा रोहितसहित ९ खेलाडी अनुपस्थित थिए।
राष्ट्रिय टिमको व्यवस्थापन पक्षले खेलाडीहरूले प्रशिक्षण क्याम्प छाडेको जानकारी अखिल नेपाल फुटबल संघ (एन्फा) लाई जानकारी दिइसकेको स्रोतको भनाइ छ।
यस विषयमा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले भने स्पष्ट कुरा गर्न चाहेनन्। उनले आफू अहिले बाहिर भएकाले पछि कुरा गर्ने बताए। तर उनले खेलाडी र प्रशिक्षकबीच विवाद भएको कुरा नकारेनन्।
नेपालले आगामी जेठ ११ र जेठ १५ मा अफगानिस्तानसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ। नेपालले एसियन कपको छनोटअघि मैत्रीपूर्ण खेल खेल्न लागेको हो।
एक महिना स्वदेशमा अभ्यास गरेपछि नेपाली टिम कतार जाने कार्यक्रम छ।
एसियन कप छनोटमा नेपाल कठिन समूहमा छ। समूह ‘ए’ मा नेपालसहित जोर्डन, कुवेत र इन्डोनेसिया छन्। समूहको शीर्ष टिम एसियन कपमा छनोट हुनेछ भने दोस्रो हुने टिमको पनि सम्भावना हुनेछ।
नेपाल सम्मिलित समूहका खेल कुवेतमा हुनेछन्। खेलहरू जेठ २५ मा सुरु भएर जेठ ३१ मा सकिनेछन्।
नेपालले आफ्नो पहिलो खेलमा जोर्डनसँग २५ जेठमा कुवेत सिटीमा प्रतिस्पर्धा गर्नेछ। यस्तै नेपालले २८ जेठमा कुवेत र ३१ जेठमा इन्डोनेसियासँग प्रतिस्पर्धा गर्नेछ।
छनोटका लागि घोषणा गरिएको नेपाली टिम
किरण कुमार लिम्बु (गोलकिपर), दीप कार्की (गोलकिपर), विशाल श्रेष्ठ (गोलकिपर), अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विकास खवास, विमल घर्तिमगर, दर्शन गुरुङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, मनिष डाँगी, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनील बल, सुरजज्यू ठकुरी, तेज तमाङ, विशाल राई
Discussion about this post