Khabar Samachar

निर्माणाधीन नागढुंगा सुरूङ अब ५४.६० मिटर खनेपछि ‘ब्रेक थ्रु’ हुने

206
VIEWS

निर्माणाधीन नागढुंगा सुरूङ अब ५४.६० मिटर खनेपछि ‘ब्रेक थ्रु’ हुने भएको छ। आयोजनाले फागुनसम्म सुरूङ ब्रेक थ्रु हुने जनाएको छ।

मुख्य सुरूङ निर्माण गएको असारसम्म सक्ने योजना थियो तर असारमा त्यसपछि डिसेम्बर अन्तिमसम्ममा सक्ने योजना थियो। तर स्थानीय विवाद हुँदा केही दिन काम हुन नसकेपछि केही ढिलाइ भएको आयोजनाको भनाइ छ।

जनवरी २३ सम्मको आयोजनाको प्रगति विवरणअनुसार दुई हजार ६३३.४० मिटर खनिएको छ। अब ५४.६० मिटर खनेपछि सुरूङ ब्रेक थ्रु हुनेछ। आयोजनाको मुख्य सुरूङको लम्बाई दुई हजार ६ सय ८८ मिटर छ।

भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मंसिर भित्रभित्र सुरूङमार्गको मुख्य टनेल ब्रेक थ्रु हुने गरी काम गर्न निर्देशन दिएका थिए।
उनल सुरूङमार्गको निरीक्षण गर्दै एक वर्षभित्र गाडी गुड्ने गरी निर्माण सक्ने बताएका थिए।

पछिल्लो समय स्थानीय विवादका कारण केही दिन निर्माणको काम अबरूद्ध बनेको थियो। सुरुङमार्गको पूर्वी पोर्टलको ८३ मिटरमाथि खाडल परेको र आयोजना स्थल नजिकै ११ वटा घरहरू चर्किएका कारण विवाद आएको थियो।

खाडल परेको ठाउँ विज्ञबाट अनुसन्धान गराइ चर्किएका घरहरूलाई अस्थायी स्थानान्तर गर्ने गरी निर्णय भएपछि विवाद रोकिएको छ। अहिले काम भइरहेको छ।

यसअघि सुरूङ निर्माणमा पटक–पटक भौगर्भिक समस्या देखिएका कारण पनि निर्माणमा ढिलाई भएको आयोजनाले बताएको छ। निर्माणका क्रममा सुरूङभित्र डिफर्मेसन (पहिरो जाने) समस्या देखिएको थियो। बीचमा केही विवादका कारण पनि निर्माणमा अवरोध पुगेको थियो।

आयोजनाको पछिल्लो प्रतिवेदन (२३ जनवरी २०२४ सम्म) सुरूङको प्रगति ९९ प्रतिशत भएको देखिन्छ।

उक्त प्रतिवेदनअनुसार समग्र आयोजनाकै भौतिक प्रगति ६९.१५ प्रतिशत सकिएको छ। यसको वित्तीय प्रगति ६३.९६ प्रतिशत भएको छ।

यो आयोजनाको आपतकालीन ‘इभ्याकुएसन’ सुरूङ ब्रेक थ्रु भइसकेको छ। यसको कुल लम्बाइ दुई हजार पाँच सय ५७ मिटर छ।

तीन वटा अन्डरपास निर्माण गर्नुपर्नेमा सबै पूरा भइसकेको आयोजनाले बताएको छ। त्यस्तै बक्स कलभर्ट चार वटै निर्माण सकिएको छ। एउटा ओभरपास पनि निर्माण भइसकेको छ। तीन वटै पुल निर्माण सकिएका छन्। फ्लाइओभर निर्माण गर्नुपर्नेमा यसको ९५ प्रतिशत काम सकिएको उल्लेख छ।

नेपालको पहिलो आधुनिक सुरूङमार्गको रूपमा लिइएको नागढुंगा सुरूङमार्ग जापान सहयोग नियोग (जाइका) को सहयोगमा २०६९ देखि २०७२ सालसम्म सर्वेक्षण गरिएको थियो।

आयोजनाको औपचारिक निर्माण २०७६ कात्तिक २८ गतेदेखि थालिएको हो। सडक विभाग र जापानी निर्माण कम्पनी हाज्मा आन्दो कर्पोरेसनबीच अप्रिल, २०२३ भित्र आयोजना निर्माण सक्ने गरी सम्झौता भएको थियो।

कोभिड महामारीका कारण पनि आयोजना निर्माण काम पछाडि धकेलिएको आयोजनाले बताएको छ। कोभिडपछि पनि हाज्मा आन्दो जेभीले ४१६ दिन म्याद थप प्रस्ताव गरेको थियो।

आयोजना कार्यालयले ८६ दिन म्याद थप गरेको थियो। म्याद थपपछि आयोजना थपिएको समयअनुसार जुलाई, २०२३ भित्र उक्त आयोजना बनिसक्नुपर्ने थियो।

यो अवधिमा पनि काम नसकिने भएपछि फेरि म्याद थपिएको हो। २५ अप्रिल २०२४ सम्मका लागि म्याद थपिएको छ। थपिएको पछिल्लो अवधिमै निर्माण सकिने गरी काम भइरहेको आयोजनाले जनाएको छ।

आयोजनाको ठेक्का र मुआब्जा गरेर कुल लागत करिब २२ अर्ब रूपैयाँ पुग्ने अनुमान गरिएको छ। यसअघि २० अर्ब ६० करोड रूपैयाँमा अयोजना पूरा गर्ने उल्लेख थियो। जापानी येन बलियो हुँदै जाँदा लागत पनि बढेको हो।

कुल लागतमध्ये १६ अर्बभन्दा बढी जाइकाले सहुलियत ऋण उपलब्ध गराउनेछ। बाँकी ६ अर्बभन्दा बढी रकम नेपाल सरकारको हुनेछ। सरकारले उपलब्ध गराउने रकम जग्गाको मुआब्जा, संरचना र अन्य प्रशासनिक कार्यमा खर्च हुने उल्लेख छ।

जाइकाले उपलब्ध गराएको रकम भने ठेक्कामार्फत् आयोजना निर्माणमा खर्च भइरहेको छ।

१२ मिटर चौडाइको सुरूङमार्गको दायाँबायाँ पैदलयात्रीका लागि पेटी रहन्छ। पेटी दुवैतर्फ एक÷एक मिटर उल्लेख गरिएको छ।

आकस्मिक अवस्थाका लागि छुट्टै एक लेनको सहायक सुरूङ रहन्छ। सुरूङमा भेन्टिलेटर र जेट फ्यानको सुविधा हुनेछ।

यो सुरूङमार्ग नेपाल आयल निगम थानकोट डिपो नजिकै निस्किन्छ र पुनः त्रिभुवन राजपथमा जोडिन्छ। त्यहाँबाट त्रिभुवन राजपथमा जोड्न २.२५ किलोमिटर लामो तीन लेनको एक्सेस रोड रहन्छ।

यातायातमा पहिलो प्रयोगका रूपमा यो सुरूङमार्ग सञ्चालनमा आउनेछन्। यसबाट आवतजावतमा निकै सहज हुने विश्वास लिइएको छ। सुरूङमार्ग सञ्चालन आएपछि मुख्य त नागढुंगाको जाम हट्ने विश्वास लिइएको छ।

अहिले धादिङ हुँदै काठमाडौं प्रवेश गर्नेहरूले नौबिसेदेखि नै घन्टौं जाममा बस्नुपर्ने बाध्यता छ। दैनिक तीनदेखि चार घन्टासम्मको जाम हुने यो स्थानमा सुरूङमार्ग सञ्चालन आएपछि नौबिसेबाट काठमाडौं २० देखि २५ मिनेटसम्ममा आइपुग्ने दाबी सरकारी अधिकारीहरूको छ।

यसले समयको बचत हुनुका साथै पेट्रोलियम पदार्थ खपतमा कमी आउने र वायु प्रदूषण कम हुने पनि विश्वास छ। यो आयोजनाले नेपालको समृद्धि, विकास र आर्थिक उन्नतिमा निकै ठूलो मद्दत पु¥याउने अधिकारीहरूको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित