Khabar Samachar

असन्तुष्ट खेलाडीले भने : प्रशिक्षकले गुट चलाए,अल्मुताइरीको प्रशिक्षणमा अब राष्ट्रिय टिममा फर्किन सकिँदैन

209
VIEWS

नेपाली राष्ट्रिय फुटबल टोलीका १० जना खेलाडीहरूले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफूहरुमाथि अन्यायपूर्ण व्यवहार गरेको गुनासो गरेका छन्। आज पत्रकार सम्मेलन आयोजना गर्दै उनीहरुले टिम छाड्नुको कारणबारे वृतान्त सुनाए ।

खेलाडीहरूले जारी गरेको संयुक्त विज्ञप्ति अनुसार टिमको आवासलाई लिएर प्रश्न गर्दा अल्मुताइरीले सिनियर खेलाडी रोहित चन्दलाई घर फर्किन चेतावनी दिएका थिए ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले यस्तो गुनासो गरेका हुन्। डिफेन्डर रोहित चन्दसँग सुरु भएको विवाद बढ्दै जाँदा अल्मुताइरीले आफूहरु सबैलाई टिमबाट निकालेर नयाँ खेलाडी ल्याउने धम्की दिएको पनि बताएका छन्।

प्रशिक्षकको आदेश अनुसार रोहित टिम छोडेर हिँडेपछि अन्य खेलाडीहरुले प्रशिक्षकसँग छलफल गर्न खोजेका थिए । ती खेलाडीलाई पनि अल्मुताइरीले सहेनन् ।’पछिल्लो घटनाक्रमले दुख लागेको छ। हामीमाथि अन्याय हुँदा उल्टै प्रश्न गरिएको छ। क्लब फुटबल नै हाम्रो आयआर्जनको स्रोत हो। क्लबभन्दा राष्ट्रिय टोलीलाई नै प्राथमकिता दिएका छौँ’, पत्रकार सम्मेलनका क्रममा उनीहरुले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘प्रमुख प्रशिक्षकबारे हामीले प्रश्न गर्दा टिमबाट निस्केर जानु भन्दा दुख लागेको छ।’

उनीहरुले आफूहरुमाथि पटक पटक भएको अन्यायबारे बोल्दा राष्ट्रिय टिम नै छाडेर जानु भनेको बताए। ‘हामीलाई राष्ट्रिय टिम नै छाडेर जान भनियो। हामीले यसबारेमा एन्फा नेतृत्वलाई पनि भनेका छौँ। हामीलाई क्याम्पबाट भागेको आरोप लगाइएको छ’, उनीहरुले भनेका छन्, ‘हामीले राष्ट्रिय टोलीमा रहँदा जिम्मेवारीपूर्वक खेलेका छौँ। हाम्रो मौतनाको फाइदा उठाउँदै पटक पटक दबाब दिए। हामीले त्यहीकारण प्रशिक्षकसँग छलफल गरेका हौँ।’

सामान्य कुरामा प्रश्न उठाउँदा पनि आफूहरुमाथि भएको व्यवहारले गम्भीर बनाएको उनीहरुले बताएका छन्। ‘जुन किसिमको व्यवहार भयो हामीलाई दुख लागेको छ। हामीमाथिको अन्यायबारे बोल्दा टिमबाटै निस्केर जानु भनिएको छ’, उनीहरुले अगाडि भने।

अल्मुताइरीले आफूहरुलाई पनि होटल छाड्न र आफू रहँदासम्म टिममा नराख्ने भनेको खेलाडीहरुको गुनासो छ । गाँस बासको सामान्य माग राख्दा प्रशिक्षकले रोहित चन्दलाई टिमबाट निकालेको र त्यसबारे कुरा गर्न खोज्दा आफूहरुलाई पनि अपमान गरेको भन्दै उनीहरुले भनेका छन्, ‘उहाँले तिमीहरुले युद्ध सुरु गर्‍यो, मैले अन्त्य गरेँ भन्नुभयो । मिडियामा नजान निर्देशन दिनुभयो ।’

मैदान बाहिर पनि हस्तक्षेप

प्रशिक्षक अल्मुताइरीले मैदान भित्र मात्र होइन, मैदान बाहिर पनि हस्तक्षेप गर्ने गरेको खेलाडीहरुले आरोप लगाएका छन् ।

आफूहरुको व्यक्तिगत स्वतन्त्रतामाथि समेत प्रशिक्षकले हस्तक्षेप गरेको खेलाडीको गुनासो छ । ‘तेरो कपाल लामो भयो, ट्याटु किन बनाइस् जस्ता कुरा नकिालेर दबाव दिनुभयो’, अनन्त तामाङ भन्छन्, ‘यस्तो अभ्यास अन्त कतै छैन होला ।’

बन्द प्रशिक्षण नभएको बेला बाहिर हिँड्दा जिन्सको ग्रञ्च पाइन्ट लगाउँदा सोधीखोजी गर्ने, सामाजिक सञ्जालमा फ्यानहरुसँग सम्वाद समेत गर्न नदिने गरेको उनीहरुको गुनासो छ ।

तामाङका अनुसार कुनै पत्रकार वा सञ्चार माध्यमले कुराकानी गर्न खोज्दा खेलाडीले प्रशिक्षकसँग अनुमति लिएर मात्र अन्तर्वार्ता दिन पाउँथे । प्रशिक्षकले यतिसम्म दबाव दिएका थिए कि, उनले लेखेका स्टाटससमेत खेलाडीले सेयर गर्नु पर्ने थियो ।

‘मानसिक रुपमा धेरै दबाव थियो । अति नै भएर हामी हिंडेको हौं’ फुटबलर तामाङले भने ।

अर्का खेलाडी विशाल राईले चित्त नबुझेको कुरा भन्दा कोचले निसानामा पार्ने गरेको बताए । पत्रकार सम्मेलनमा सोधिएको प्रश्नमा उनले भने, ‘प्रशिक्षकले तँलाई राष्ट्रिय टिमबाटै निकाल्दिन्छु भनेर समेत चेतावनी दिने गरेका थिए ।’

खेलाडीहरुले अल्मुताइरीकै कारण प्रशिक्षण छाड्नु परेपनि उनले नेपालको फुटबल सुधारका लागि काम गरेको बताए । अल्मुताइरकै पहलमा मैत्रीपुर्ण खेल भएको र यसकाले आफूहरुको आत्मविश्वास बढेको खेलाडीलाई पनि लागेको छ ।

‘कोचका रुपमा हामी अझै सम्मान गर्छौ उहाँलाई । खेलाडीको आत्मविश्वास बढाउने, ठूला टिमहरुसँग मैत्रीपूर्ण खेल खेलाउने काम गर्नुभयो उहाँले,’ इन्डोनेसियन क्लबबाट व्यावसायिक फुटबल खेल्दै आएका चन्दले भनका छन्, ‘कोचको रुपमा नभएर व्यक्तिगत रुपमा उहाँसँग समस्या भयो ।’

खेलाडीले आफूहरुले टिम छाडेर हिंड्नु पर्ने स्थिति किन आयो भनेर छानबिन गर्न एन्फालाई आग्रह पनि गरेका छन् । प्रशिक्षण छाडेपछि एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई भेटेर खेलाडीले समस्या समाधानका लागि आग्रह गरेका थिए ।

तर अध्यक्षले चुनावका कारण अहिले केही गर्न नसक्ने बताएको खेलाडीले जानकारी दिए । ‘हामीले प्रशिक्षकले हामीलाई दबाव दिनुभयो भनेर गुनासो गर्‍यौं ।’

प्रशिक्षण छाडेपछि सामाजिक सञ्जालमा विद्रोही भन्दै आफूहरुलाई गाली गरेकोमा खेलाडीले चित्त दुखाएका छन् ।

समर्थकहरुले आफूहरुके बाध्यता नबुझी आलोचना गरेको उनीहरुलाई लागेको छ । पत्रकार सम्मेलनमा विशाल राईले भने, ‘हामी विद्रोही होइनौं, पीडित हौं ।’

खेलाडीहरुले प्रशिक्षक हटाउनु पर्छ नभनेको तर अल्मुताइरीको प्रशिक्षणमा खेल्न गाह्रो हुने बताए । चन्दले भने, ‘हामीले कोच हटाउनुपर्छ भनेका छैनौं । तर हामीलाई उहाँको अण्डरमा खेल्न गाह्रो छ । उहाँलाई हामीप्रति ट्रस्ट हुन्न, हामीलाई पनि हुन्न ।’

‘सानो-सानो कुरामा पनि प्रशिक्षकले डर देखाउँथे। तेरो कपाल लामो भयो, ट्याटु किन बनाइस् भन्ने कुरा निकालेर हामीलाई मानसिक दबाब दिइयो। यस्तो अभ्यास विश्वको फुटबलमा कही कतै पनि छैन’, उनले भने।

उनले अहिलेको यो घटनामा आफूहरु दोषी भए कारबाहीका लागि तयार रहेको भन्दै छानबिन गरिदिन एन्फासमक्ष आग्रह गरेका छन्।

‘हामीले आफ्नो कुरा भनिसकेका छौं। हामीलाई प्रशिक्षकसँग खेल्न गाह्रो छ। यसबारे एन्फाले निष्पक्ष छानविन गर्छ भन्नेमा हामी विश्वस्त छौं,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित