काठमाडौं उपत्यकामा आज यो वर्षकै बढी चिसो महसुस गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौंको न्यूनतम तापक्रम यो वर्षकै कम ७.४ डिग्री सेल्सियस मापन गरिएको हो ।मङ्गलबार काठमाडौँको न्यूनतम तापक्रम ८.० डिग्री सेल्सियस थियो । चिसो बढेसँगै विभागले वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । काठमाडौँ उपत्यकासहित देशभर औसतमा दैनिक एकदेखि दुई डिग्री सेल्सियससम्म तापक्रम घट्न थालेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडो याम सुरु हुन्छ । केही दिन अघिदेखि दिउँसोको तापक्रमसमेत दुईदेखि तीन डिग्री सेल्सियसका दरले घटिरहेको छ । हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ ।आज राति देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहने बताइएको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ४.५ डिग्री र सबैभन्दा बढी जनकपुरको अधिकतम तापक्रम २९.२ डिग्री सेल्सियस रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय