भौतिक यातायात तथा पूर्वाधारमन्त्री रेणुकुमारी यादवले कमल विनायक–नगरकोट सडकखण्ड दुई महिनाभित्र निर्माण सम्पन्न नगरे ठेक्का सम्झौता रद्द गर्ने बताएकी छन् । कमल विनायक–नगरकोट सडकखण्ड निर्माण सम्पन्न गर्नेबारेमा बुधबार मन्त्री यादव र बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णलाल भँडेलबीच भएको छलफलमा उनीहरु दुई महिनाभित्र सडक निर्माण सम्पन्न नगरे ठेक्का रद्द गर्न सहमत भएका हुन् ।

निर्माण व्यवसायी महासङ्घका पूर्वमहासचिव रामशरण देउजाको समन्वयमा बुधबार सङ्घ र प्रदेशका दुई मन्त्रीसहितको टोलीबीच भएको छलफलमा सडकलाई गम्भीरताका साथ लिएकाले तत्काल निर्माण सम्पन्न गर्न निर्माण व्यवसायी शैलुङ कन्स्ट्रक्सनलाई निर्देशन दिनेबारेमा छलफल भएको थियो।निर्माण कम्पनीले ठेक्का सम्झौता गरी २०७०/०७१ मा निर्माण सुरु गरेको उक्त सडक पटक–पटक म्याद थप गर्दै आएको र अहिले पुनः म्याद थप गरेको छ।पटक–पटक म्याद थप गरेर पनि आठ वर्षसम्म सडक निर्माण सम्पन्न नगरेको भन्र्दै स्थानीय बासिन्दा र होटल व्यवसायीले छिटो सडक निर्माण सम्पन्न गर्न माग गर्दै आन्दोलन समिति नै बनाएका छन्।

मन्त्री भँडेलले सडकको अवस्था र स्थानीयको आक्रोशका बारेमा मन्त्री यादवलाई जानकारी गराउँदै छिटो सडक निर्माण सम्पन्न गराउन पहल गरिदिन आग्रह गरेको समन्वयकर्ता एवं महासङ्घका पूर्वमहासचिव देउजाले बताए।मन्त्रालय वा विभागको भ्रमणमा निर्माण सामग्री र जनशक्ति बढाइने गरिए पनि अरु समयमा निर्माणको गति सुस्त छ । उनले भने, ‘बेलाबेलामा अलिअलि गरेजस्तो गरेर जनताको आँखामा छारो हाल्ने बाहेक अरु केही भएको छैन ।’ भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले आइतबार नगरकोट सडकको स्थलगत अनुगमन गरेकी थिइन् । अनुगमनका क्रममा उनले यो सडक दुई महिनाभित्रमा सम्पन्न गर्न सम्बन्धीत पक्षलाई निर्देशन दिइन् । अझै पनि ढिलाइ भएमा अवधि थप नहुने उनको भनाइ थियो ।छलफलमा भौतिक यातायात तथा पूर्वाधार मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले सडक गुणस्तर बन्न नसकेको र कालोपत्र पनि एक कोड मात्र भएकाले दोहोरो कोड गर्नुपर्ने आवश्यकता रहेको जानकारी गराएका थिए।आगामी दुई महिनाभित्र कम्पनीले सडक निर्माण सम्पन्न गरेमा सडकको प्रत्येक मोडमोडमा गुणस्तरीय कालोपत्र गरेर टिकाउ बनाउन मन्त्रालयले बजेट विनियोजन गर्नेबारेमा समेत छलफल भएको छ।मन्त्री यादव त्यसमा सकारात्मक भएको देउजाले बताए। छलफलमा सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले सडकको अवस्थाका बारेमा जानकारी गराएका थिए।उकालो सडकमा जतासुकै छरिएको निर्माण सामग्रीले गर्दा पर्यटक र स्थानीयवासी सबैलाई आवतजावत गर्न समस्या भइरहेको छ ।नगरकोटका माथिल्लो भागमा जाडो समयमा काम गर्न सकिँदैन । तेलकोट–नगरकोटखण्डमा तल्लो भागभन्दा तापक्रम कम हुने भएकाले आगामी महिनामा काम गर्न नसकिने हुनसक्ने प्रमुख श्रेष्ठले बताए । तापक्रम कम हुँदा कालोपत्र गर्दा गुणस्तर कम हुने उनले बताए । उनले भने, ‘तापक्रम पुग्यो भने मात्रै यो महिनामा काम गर्न सकिन्छ ।’ आफूले नियमित रूपमा निर्माणस्थलमा आएर गुणस्तरमा समस्या देखिएमा यहाँ छ भनेर देखाएर काम रोक्न भनेको प्रमुख श्रेष्ठले बताए । निर्माण सामग्री यहाँ झारेपछि आफूले हुँदैन भन्दा लगानी खेर जाने भएकाले उत्पादन हुने ठाउँमा पुगेर नै हेर्छु उनले बताए । उनले भने, ‘यहाँ ल्याएर गुणस्तर नभएपछि समय खेर जाने र जनशक्ति पनि त्यसै बस्नुपर्छ ।’

अहिलेसम्म निर्माणमा ढिलाइ हुनुको सबैभन्दा प्रमुख कारण निर्माण कम्पनीको ढिलासुस्ती नै हो । अहिले सबैतिर निर्माणस्थल खाली भएकाले अरु समस्या नभएको प्रमुख श्रेष्ठको भनाइ छ । योजनाले कतै निर्माणस्थलका कारणले समस्या आएमा तत्काल समाधान गरिने निर्माण कम्पनीलाई भन्दै आएको छ । उनले भने, ‘विगतमा जङ्गलको रुख काट्नेलगायत समस्या थियो अहिले सामाधान भइरहेको छ ।’ जिल्ला प्रशासन कार्यालय, भक्तपुर र चाँगुनारायण नगरपालिकाले पनि निर्माणमा आवश्यक सहयोग गरेको छ । निर्माण कम्पनीलाई कार्यालयका कारणले ढिला नहुने भनी विश्वास दिलाइएको उनले बताए । कम्पनीले काम गर्दा गुणस्तरमा समस्या देखिएमा रोक्न भनिए पनि योजनाबाट इञ्जिनीयर, सव–इञ्जिनीयर नआएर काम नरोकिने उनले बताए ।

कात्तिक २८ मा सडकको निरीक्षण गर्दै नगरकोट पुगेर फर्केकी मन्त्री यावद सहितको टोलीलाई नगरकोट सडक सङ्घर्ष समितिका संयोजक राजकुमार लामिछानेसहिले मन्त्रीकै सवारी रोकेर सडक छिटो निर्माण सम्पन्न गराइदिन माग गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय