पशुपति आर्यघाटमा जलाउन लागिएको शवबाट मासु, हड्डी निकालेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्ने व्यक्ति आर्यघाटमा शव जलाउने काम गर्ने एक ब्राम्हण रहेको प्रहरीले बताएको छ । उनलाई प्रहरी वृत्त गौशालाको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता कुलदीप चन्दले बताए ।
मलामीले दिएको निवेदनका आधारमा शुक्रबार पशुपति आर्यघाटमा घाटे काम गर्ने गणेश ढकाललाई प्रहरीले शुक्रबार पक्राउ गरेको थियो । उनले अहिलेसम्म ठोस जजाफ दिएका छैनन् । काभ्रेको बनेपा- ९ का राम शाहीको शव अत्येष्टिका क्रममा शुक्रबार शव दहन भइसकेपछि एक टुक्रा मासु झिकेर अन्य व्यक्तिलाई रहस्यमय तवरले दिइएको भन्दै शाहीका मलामीले प्रहरीलाई खबर गरेका थिए ।
खबर पाउनासाथ प्रहरीले शुक्रबार नै उक्त शव दहन गर्ने घाटे ढकाललाई पक्राउ गरेर हिरासतमा राखेको हो । तर, उनले अहिलेसम्म कसलाई र किन उक्त मासुको टुक्रा दिएको भन्नेबारे केही नबताएको प्रहरी वृत्त, गौशालाका डीएसपी सुकदेव खनाल बताउँछन् । तर, आफूले मासु नभएर हड्डी झिकेको ढकालले बताएका छन् ।मानिसको शवबाट मासु र हड्डी चोरी हुने घटनानै प्रहरीका लागि नयाँ हो । यसमा पक्राउ गरेका व्यक्तिलाई कुन कानुनअनुसार कारवाही र अनुसन्धान गर्ने भन्नेमै अन्यौलता रहेको प्रहरीले बताएको छ । डीएसपी खनालका अनुसार आइतबार अभद्र व्यवहारमा म्याद थप गरी घटनाबारे थप अनुसन्धान गरिने भएको छ ।























Discussion about this post