Khabar Samachar

धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी

209
VIEWS

धनगढी उपमहानगरपालिका को मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल निर्वाचित भएका छन् । उपमेयरमा भने नेकपा एमालेले बाजी मारेको छ ।

आइतबार बिहान सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार स्वतन्त्र उम्मेदवार हमालले नेपाली कांग्रेसका नृपबहादुर वडलाई भारी मतान्तरले पराजित गरेका हुन् । वड निवर्तमान मेयर पनि हुन् ।

अघिल्लो पटक हमाललाई नै हराउँदै मेयर बनेका उनी यसपटक सत्ता गठबन्धनबाट साझा उम्मेदवार बन्दा समेत स्वतन्त्र उम्मेदवार हमालसँग भारी मतले हारेका हुन् ।

विजयी हमालले २६ हजार ८६५ मत पाए । उनीसँग हारेका कांग्रेसका वडले १४ हजार ८१७ र एमालेका रणबहादुर चन्दले ९ हजार ११५ मत पाए ।

धनगढी नेपाली कांग्रेसको बलियो पकड रहेको क्षेत्र हो । यहाँका बहुमत वडामा नेपाली कांग्रेस विजयी भएको छ । तर, मेयरमा भने गठबन्धन हुँदा पनि पराजित हुनु परेपछि कांग्रेसीजनमा निराशा छाएको छ ।

उपमेयरमा पनि गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै नेकपा एमाले विजयी भएको छ । गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी शान्ति अधिकारीलाई हराउँदै एमालेकी कन्दकला राना विजयी भएकी हुन् ।

उपमेयरमा गठबन्धनको विरोध गर्दै नेपाली कांग्रेसका नेता प्रभाकर भण्डारीले बागी उम्मेदवारी दिएका थिए । त्यसको फाइदा एमालेले लिँदा माओवादी केन्द्रकी अधिकारी हार्न पुगिन् ।

विजयी रानाले १५ हजार ४७९ मत पाइन् । उनीसँग हारेकी माओवादीकी अधिकारीले १२ हजार ६७० मत पाइन् । बागी उठेका भण्डारीले ६ हजार ६०९ मत पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित